२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रस परासी उपशाखाद्धारा जनता आधारभूत विद्यालय ननईका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०८० फागुन २, बुधबार प्रकाशित ( महिना अघि) ४५४ पाठक संख्या

परासी, २ फागुन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित जनता आधारभूत विद्यालय ननईका विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाले शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयको स्वर्ण जयन्ती तथा सरस्वती पूजाको अवसरमा आज विद्यालयमा आयोजित समारोहमा रेडक्रस उपशाखाको तर्फबाट शैक्षिक सामग्री वितरण तथा रेडक्रसको झण्डोत्तलन गरिएको हो ।
उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत करिब एक सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै शैक्षिक उन्नतीमा जोड दिन आफ्नो तर्फबाट उक्त सहयोग गरेको उहाँले बताउनुभयो । सरस्वती पूजाकै अवसरमा कापि कलम लगायतका शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै सभापति अग्रहरीले रेडक्रस मार्फत मानवीय सेवाका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनुभयो । आफू केही दिन अघि मात्रै सभापतिमा निर्वाचित भएर पहिलो कार्यक्रम नै विद्याको मन्दिरबाट थालनी गर्न पाएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति चौधरीको अध्यक्षता तथा वडा नं.१५ का वडा अध्यक्ष धनपत यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष यादवले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारमा जोड दिँदै आएको बताउनुभयो । शैक्षिक गुणस्तर बृद्धिमा शिक्षक र अभिभावकलाई ध्यान दिन आग्रह गर्दै वडा अध्यक्ष यादवले विद्यालयको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले विगतमा पनि विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गरेको आफ्नो कार्यकालमा विद्यालयको चारैतिर पर्खाल, गेट निर्माण एवं विद्यालयसम्म पुग्ने सडक स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अभिभावकहरु जागरुक नभएसम्म विद्यालय सुधार गर्न सम्भव नहुने भन्दै अभिभावकलाई विद्यालयमा नियमित निगरानी र चासो राख्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, पत्रकार गौरीशंकर जयसवाल,घिनाहा आधारभूत विद्यालयकी प्रधानाध्यापक मिना न्यौपाने, जनता आधारभूत विद्यालय ननईका प्रधानाध्यापक गौरीशंकर पाण्डेय,शिक्षकहरु शर्मिला भट्टराई, अनिशा थारु लगायतले शुभकामना व्यक्त गर्नुभएको नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।
यस्तै नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष समेत रहनुभएका अग्रहरीले आजै रामग्राम–३ घोडपालीस्थित लक्ष्मीनारायण मन्दिरलाई दुई थान डष्टविन पनि वितरण गर्नुभएको छ ।

22

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस