२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

फरकफरक संघीय कानूनका कारण वन संरक्षण र व्यवस्थापनमा समस्या : भारती पाठक

२०८० माघ २८, आईतबार प्रकाशित ( महिना अघि) ३९३ पाठक संख्या

मोहन पौडेल
परासी, २८ माघ । बागमति प्रदेशसभा सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघकी निवर्तमान केन्द्रीय अध्यक्ष भारती पाठकले प्रतिनिधिसभाले वन संरक्षण सम्बन्धी दुई वटा फरक फरक संघीय कानून बनाउँदा समस्या थपिएको बताउनुभएको छ । उहाँले तीन तहका सरकारबीच समन्वय नहुँदा वन संरक्षणमा चुनौती थपिएको पनि जिकिर गर्नुभयो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आज ग्रीन फाउण्डेसन नेपालको आयोजनामामा सम्पन्न नेपालमा सामुदायिक वनको अधिकार सुनिश्चितताका लागि सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद एवं फेकोफनकी निवर्तमान अध्यक्ष पाठकले उक्त कुरा बताउनुभएको हो ।
प्रतिनिधिसभाले २०७४ मा बनाएको स्थानीय सरकार सञ्चालन ऐनमा वन संरक्षण,व्यवस्थापनको पाटोमा उपभोक्तासँग समन्वय गर्ने अधिकार स्थानीय सरकारलाई दिएको र २०७६ मा बनेको वन ऐनले भने सामुदायिक वन प्रदेश सरकार अन्तरगत रहने उल्लेख गर्दा कुन कानुनलाई मान्ने भन्ने अन्यौलता रहेको उहाँले बताउनुभयो ।
संविधानले प्राकृतिक स्रोत माथिको अधिकार माथि स्थानीय समुदायको रहने भनी उल्लेख गरेपनि संघीय सरकारले आफ्नो नियन्त्रणमा मात्र राख्न खोजेको उहाँले बताउनुभयो । वन सम्बन्धी तीन तहका सरकारबीच समन्वय र सहकार्य नहुँदा समस्या भईरहेको बताउँदै उहाँले वन संरक्षणको अधिकार स्थानीय सरकारलाई नै दिनुपर्नेमा जोड दिनुभयो । जतिबेला पनि भेट्न सकिने सरकार स्थानीय सरकार नै भएकोले संविधान बमोजिम स्थानीय सरकारले स्थानीय वन ऐन बनाएर लागू गर्नुपर्ने उहाँले बताउनुभयो । वन्यजन्तु संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको तर वन क्षेत्र संरक्षण गर्ने अधिकार प्रदेशलाई दिएकोले पनि अन्यौलता भएको उहाँको भनाई थियो । उहाँले सामुदायिक वनलाई उद्यममार्फत उत्पादन र रोजगारीसँग जोड्न पनि आग्रह गर्नुभयो ।
सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले नगरपालिकाले वन कार्यविधि बनाएर लागू गरेको र वन वातावरण सम्बन्धी छुट्टै शाखा स्थापना गरेर वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा सहजीकरण गर्दै आएको बताउनुभयो । उहाँले सामुदायिक वनहरुले उत्पादन, रोजगारी र उद्यममा जोड दिनुपर्ने बताउँदै वनको विकासबाट समृद्धि हासिल हुने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन नवलपरासीकी अध्यक्ष शारदा पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्ले, वडा नं.६ का वडा अध्यक्ष दीलिप चापागाई, वडा नं. ५ का वडा अध्यक्ष नेत्र तिवारी, फेकोफन रुपन्देहीकी अध्यक्ष यामकला आचार्य, जनउदय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलबहादुर थापा, समाजसेवी शंकर गौतम,फेकोफनकी केन्द्रीय सदस्य टिचन गुरुङ, सुनवल नगर अध्यक्ष कर्ण बहादु सेन लगायतले आआफ्नो धारणा राख्नुभएको थियो भने फेकोफनकी प्रकृति भुसाल र डिभिजन वन कार्यालयका प्रमुख वाग्लेले वन व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस