२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

विद्यालय लक्षित उपभोक्ता जागरण कक्षा सञ्चालन गर्दै घरेलु कार्यालय नवलपरासी

२०८० माघ २७, शनिबार प्रकाशित ( महिना अघि) ४२८ पाठक संख्या

परासी,२७ माघ । आम उपभोक्ताहरुलाई जागरुक बनाई स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड दिन पश्चिम नवलपरासीमा विद्यालय लक्षित उपभोक्ता शिक्षा सम्बन्धि सचेतनामूलक तालिम सञ्चालन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले उपभोक्ता जागरण कार्यक्रम अन्तर्गत विद्यालय कार्यक्रम प्रभावकारी हुने ठहर गरी विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
उपभोक्ताहरुलाई स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगका विषयमा सहजरूपमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सातै पालिकामा रहेका ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरि विद्यार्थीलाई उपभोक्ता शिक्षा कक्षा सञ्चालन गरिएको कार्यालय प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
अन्य माध्यमका तुलनामा विद्यार्थीहरुलाई सहभागी गराएर गरिने सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने भएकाले विद्यार्थीलाई उपभोक्ता जागरण र स्वच्छ बजारका विषयमा शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सोही क्रममा शुक्रबार परासीस्थित पवन माविका विद्यार्थीलाई पनि उपभोक्ता शिक्षा सम्बन्धि सचेतनामूलक तालिम प्रदान गरिएको छ ।

20240209_113354

उपभोक्ता शिक्षा सम्बन्धि कक्षालाई सहजीकरण गर्दै कार्यालय प्रमुख पौडेलले उपभोक्ताका हितका लागि भनेर विभिन्न किसिमका ऐनकानून बनाइए पनि प्रभावकारीरूपमा कार्यान्वयन नभएका कारण उपभोक्ताहरु हालसम्म पनि ठगिँदै आएकाले उपभोक्ता आफै सचेत हुनुपर्ने बताउनुभयो । उपभोक्ताहरु मूल्य, तौल र गुणस्तरमा ठगिने गरेका छन् ।
विद्यार्थीले आफूहरुले विद्यालयमा सिकेको भनेर आफ्नो परिवार तथा गाउँघरमा सुनाउने कार्य अन्य माध्यमबाट गरिने प्रचारप्रसारभन्दा प्रभावकारी हुने भएकाले उपभोक्ता सचेतनामा समेत विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी पवन माविका विद्यार्थीहरुले आफूले पाएको ज्ञान घरपरिवार गाउँसमाजमा बाँड्ने बताएका थिए ।
कार्यक्रममा पवन माविका प्रधानाध्यापक अरबिन्द पाठकले मानिसको जीवनसँग जोडिएको विषय भएकोले उपभोक्तालाई सचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । गुणस्तरिय वस्तुको लागि उपभोक्ताहरू आफै नै सचेत हुनुपर्ने बताउँदै उहाँले यस्ता कार्यक्रम विद्यालयमा सञ्चालन गर्दा थप प्रभावकारी भएको बताउनुभयो । ‘उपभोक्ताले जानेर वा नजानेर अखाद्यवस्तु प्रयोग गर्ने गरेका छन्, त्यसले मानव स्वास्थ्यमा असर पुर्याउने गरेको छ’ प्रअ पाठकले भन्नुभयो ‘यसबारे उपोक्तालाई सचेत पार्न जरूरी छ ।’

यस्तै उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव एवं पत्रकार मोहन पौडेलले उपभोक्तामा जागरण ल्याउनुपर्ने बताउनुभयो । उपभोक्ता जानेर वा नजानेर हरेक क्षेत्रमा ठगिँदै आएको बताउँदै उहाँले संविधानले दिएको अधिकारको कार्यान्वयन र प्रयोगमा स्वयम् उपभोक्ता नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत कृष्ण काफ्ले,उद्यम विकास सहजकर्ता मनोज चौधरी लगायतले पनि गुणस्तरीय वस्तु तथा सेवाको प्रयोगमा जोड दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस