२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु,खेल मैदान निर्माणमा पहल गर्ने कँडेलको भनाई

२०८० माघ २२, सोमबार प्रकाशित ( महिना अघि) ३६४ पाठक संख्या

मोहन पौडेल
परासी, २२ माघ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा हरपुर मावि पाल्हीनन्दन २ को व्यवस्थापनमा आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
आगामी माघ २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पाल्हीनन्दनमा पूर्वाधारसहितको खेल मैदान निर्माणका लागि पहल गर्ने बताउनुभयो । त्यसका लागि उपयुक्त स्थानको छनौट गरि डिपिआर बनाउन उहाँले गाउँपालिकालाई आग्रह गर्नुभयो । खेलकुदले अनुशासन सिकाउने भन्दै उहाँले त्यही अनुशासनले जीवन पनि अनुशासित बनाउने र राष्ट्रका लागि असल नागरिक उत्पादनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
नेता कँडेलले आफूले यस क्षेत्रबाट चुनाव हारेपनि विकासका लागि पहल गरिरहेको बताउनुभयो । महेशपुरदेखि सुनवलसम्मको सडक विस्तारलाई पूर्णता दिने,गोपालपुर मुडेरा सडक लगायतका सडक निर्माणका लागि पनि पहल गर्ने बताउँदै उहाँले चुनावमा उपविजेता भएपनि आफू जनतासँगै रहेको बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले विद्यालय तहबाटै खेलाडि उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रले नागरिक स्वस्थ हुने, राष्ट्रको पहिचान बढ्ने, असल नागरिक उत्पादनमा टेवा पुग्ने भएकोले गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । अध्यक्ष गुप्ताले गाउँपालिकाका अन्य सडक पूर्वाधार, तरकारीको बजारीकरण लगायतका क्षेत्रमा आवश्यक सहजीकरण गरिदिन संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य द्धय बैजनाथ जयसवाल, खड्ग बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), गाउँपालिका उपाध्यक्ष फातिमा खातुनन अन्सारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका १५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस