२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सार्वजनिक निकायको सेवा सुविधामा पारदर्शिता र जवाफदेहिताका लागि प्रतापपुरमा सार्वजनिक बहस

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) ३३९ पाठक संख्या

परासी, १८ माघ । सार्वजनिक निकायबाट प्राप्त हुने सेवा सुविधामा पारदर्शीता र जवाफदेहिता विषयक सार्वजनिक बहस कार्यक्रम आज पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सम्पन्न भएको छ ।

2

प्रतापपुर र सुस्ता गाउँपालिकाका आम नागरिकको सहभागितामा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था(सिटिजन जुरी)को नवलपरासीको आयोजना, जिल्ला प्रशासन कार्यालयको समन्वय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले स्थानीय तह, मालपोत, नापी लगायात सार्वजनिक निकायबाट हुने ढिलासुस्ती, भ्रष्टाचार, अनियमितताको विषयमा आवाज उठाएका थिए । हुलाकी सडकसहितका भित्री सडकहरु वर्षाैँदेखि निर्माणमा ढिलाई हुँदा नागरिकले सास्ती भोग्नुपरेको, स्थानीय किसानले उत्पादन गरेका कृषि उपज काठमाडौँ, पोखरा लगायतका बजारमा पठाउँदा राजस्व कार्यालयले अनावश्यक दुःख दिने गरेको,तीनै तहका सरकारबाट भईरहेका निर्माण कार्यमा गुणस्तरहित सामग्रीको प्रयोग भईरहेको,उखु,केरा लगायतका बाली भारतबाट आउँदा यहाँका किसान मर्कामा परेको, खोला नालाको दोहन भईरहेको लगायतका जिज्ञासा स्थानीयले उठाएका थिए ।
यस्तै स्थानीय तहबाट हुने अनुगमन प्रभावकारी नहुने गरेको, सुस्ताको नर्सही लगायतका स्थान गुगल नक्सामा भारतमा देखाउँदा बैंकले ऋण नदिने गरेको, प्रतापपुरको एक वडामा संकलन हुने गरेको राजस्व समयमै बैंक दाखिला नहुने गरेको, सार्वजनिक निकायबाट नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको, अख्तियारले दबाब प्रभावमा काम गर्ने गरेको बताउँदै सहभागिहरुले पारदर्शिता र जवाफदेहिता बोलिमा सीमित हुन नहुनेमा जोड दिएका थिए ।
उक्त अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले राजस्व दाखिला गर्न ढिलाई गर्ने वडा सचिवलाई गाउँपालिका तानेर कारवाही गरेको, कर्मचारी भर्ना निष्पक्ष हुने गरेको जिकिर गर्नुभयो । अख्तियारमा रिसिबी साँधेर उजुरी हाल्ने र दुःख दिने गरेको बताउँदै अध्यक्ष यादवले गाउँपालिकाको कार्यक्षेत्र भित्र नपर्ने विषयमा पनि सामाजिक सञ्जालबाट अनावश्यक आलोचना गर्ने गरिएको बताउनुभयो । जनताका गुनासा सम्बोधन गर्दै आफूहरु पनि सच्चिदैँ गईरहेको बताउँदै अध्यक्ष यादवले गाउँपालिकाका कर्मचारी वा जनप्रतिनिधि कसैले गल्ती गरेको भए नछाड्ने तर राम्रो काम गर्दा पनि दुःख दिने प्रवृत्ति भने अन्त्य हुनुपर्ने बताउनुभयो ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले आफूहरुको कार्यकालमा सडक लगायतका संरचना कमसल सामग्री प्रयोग नभएको र गुणस्तरहीन निर्माण नभएको बताउनुभयो । खुल्ला सीमानाको फाईदा उठाउँदै भारतबाट रातभर उखु, केरा लगायतका फल ओर्साने र नेपाली किसानले आफ्नो भन्दै बेच्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाई थियो । सुस्ताको केही भाग गुगल नक्सामा भारतमा देखाउँदा बैंकले ऋण नदिने गरेको विषयमा नेपाल सरकारका विभिन्न निकायमा पालिकाले ध्यानाकर्षण गराएको तर सुधार हुन नसकेको जिकिर गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले पश्चिम नवलपरासीका स्थानीय तह विरुद्ध एक सय ५ उजुरी यो वर्ष मात्र परेको जानकारी दिनुभयो । उहाँले अख्तियारमा परेका उजुरीको प्रारम्भीक अध्ययन गरि उजुरी यथार्थ हो की होईन भनेर एकिन गरेर अनुसन्धान गर्ने गरेको र कसैको दबाब र प्रभावमा अख्तियारले काम नगरेको बताउनुभयो ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका जिल्ला अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल, सिटिजन जुरीका संस्थापक अध्यक्ष कैलाश ठाकुर, कार्यक्रम संयोजक केदारनाथ पाण्डेय, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्मा लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम रामग्राम जेसीजका अध्यक्ष एवं पत्रकार मोहन पौडेलले सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस