२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनका शीतलहर प्रभावित परिवारलाई न्यानो कम्बल वितरण

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) ८८९ पाठक संख्या

परासी, १२ माघ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा शीतलहरबाट प्रभावित अति विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वय, यूनिसेफ नेपाल लुम्बिनी प्रदेशको सहयोग र पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा आज एक कार्यक्रम गरि शीतलहरबाट प्रभावितलाई कम्बल वितरण गरिएको हो ।
अत्याधिक चिसोका कारण कष्टकर जीवन विताउन बाध्य अति विपन्न नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले बताउनुभयो । सबै वडाबाट गरि पचास जनालाई कम्बल वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष अन्सारीले वितरण गरिएका कम्बलको सही प्रयोग गर्न पनि जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले गाउँपालिकाले शीतलहर शुरु भएसँगै जाडोबाट प्रभावित नागरिकलाई जोगाउन प्रत्येक वडामा एक सय जनाको दरले छ वटा वडाका ६०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको बताउँदै अपुग भएका नागरिकलाई रेडक्रसको समन्वयमा आज थप पचास वटा कम्बल वडा कार्यालयबाट प्राप्त भएका नामावलीको आधारमा वितरण गरिएको जानकारी दिनुभयो । यसले केही भएपनि जाडोको मौसममा राहतको महशुस हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले रे्डक्रसले विपद्को समयमा नागरिकलाई बचाउन सहयोग गर्दै आएको बताउनुभयो । शीतलहर होस् वा बाढी डुबानको समयमा रेडक्रस सँधै प्रभावित नागरिकको सहयोगमा तत्पर रहँदै आएको बताउँदै उहाँले दातृ निकायबाट सहयोग लिएर वितरण गरिएको कम्बलको दुरुपयोग नगरि सही रुपमा सदुपयोग गरि जाडोबाट जोगिन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस