२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलको पहाडी क्षेत्र ताेक्लादी गाउँमा विद्युत पुग्यो, स्थानीय हर्षित

२०८० माघ ११, बिहिबार प्रकाशित ( महिना अघि) ४७० पाठक संख्या

परासी,११ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. को पहाडी क्षेत्रमा अवस्थित तोक्लादी गाउँमा विद्युत पुगेको छ । लामो समयदेखि अध्याँरोमा जीवन बिताउन बाध्य त्यस गाउँका बासिन्दा विद्युतको पहुँच पुगेपछि हर्षित भएका छन् ।
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले बुधबार उक्त गाउँमा विद्युत विस्तार गरि उज्यालो बनाएको हो । तोक्लादीमा विद्युत पुगेसँगै प्राधिकरणले सुनवल नगरपालिका वडा नम्बर ४ लाई पूर्ण विद्युतीकरण युक्त वडा पनि घोषणा गरेको छ ।
कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले यस विद्युतिकरण सँगै अब ताेक्लादीलाई समृद्धिकाे दिशातर्फ अगाडि बढाउने बताउनुभयो । चुरेको फेदमा अवस्थित तोक्लादीलाई पर्यटक आकर्षण , हाेम स्टे निर्माण तथा पशुपालनको समेत आधार क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको मेयर अर्यालले बताउनुभयो । हावापानी र बातावरणिय दृष्टिकोणले पनि यस क्षेत्र निकै उत्तम रहेकाेले यहाँको सम्भावनालाई मध्यनजर गरि स्थानीय सरकारले विकासमा ध्यान दिने उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले यहाँका सम्भावनालाई ध्यानमा राखेर स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरि व्यावसायिक दृष्टिकोणले अघि बढ्न स्थानीयलाई आग्रह गर्नुभयो ।
सुनवल ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले विद्यतीकरणसँगै वर्षौदेखिको याेजना सार्थक भएकाेमा खुशी व्यक्त गर्दै तोक्लादीको स्तरोन्नती र विकासका लागि पहलकदमी गरिरहने बताउनुभयो ।
सुनवल चाैराहादेखि करिब १४ किलोमिटर उत्तर पाल्पाकाे माथागढी गाउँपालिका वडा नम्बर ६ काे सीमानासँग जोडिएको ताेक्लादी गाउँमा करिब १७ घरधुरीमा करिब ८० जना स्थानीयबासीकाे बसाेबास रहेकाे छ ।काठका कच्चि घरहरूमा पूर्ण मगर समुदायकाे मात्र बसाेबास रहेकाे यस बस्तिमा विद्युत पुग्दा हर्षित भएका स्थानीयहरूले अब खानेपानीको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस