२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

चामलको अवैद्य आयातले स्वदेशी उद्योग धरासायी भएको उद्योगीको गुनासो,चोरीपैठारी रोक्न माग

२०८० माघ १०, बुधबार प्रकाशित ( महिना अघि) ४९३ पाठक संख्या

मोहन पौडेल
परासी, १० माघ । भारतबाट अवैद्य रुपमा चामलको आयात बढेपछि नेपाली खाद्य उद्योगहरु धरासायी भएका उद्योगीहरुले गुनासो गरेका छन् । खुल्ला सीमानाकाको फाईदा उठाउँदै अत्याधिक मात्रामा सस्तो चामल भित्रिँदा यहाँका नेपाली चामल उद्योग बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगीहरुले भारतीय चामललाई कडाईका साथ रोक्न माग गरेका छन् ।
नेपाल चामल उद्योग संघ लुम्बिनी प्रदेशले सीमा नाकाबाट हुने अवैद्य चामल आयत रोक्न माग गर्दै आज पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ध्यानाकर्षण गराएको छ । संघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीको नेतृत्वमा नवलपरासी तथा रुपन्देहीका चामल उद्योग सञ्चालकहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै चामल उद्योग सञ्चालन गर्ने सहज वातावरण बनाईदिन माग गरेका हुन् ।
नेपाली उद्योगले महंगो मूल्यमा धान खरिद गरि उत्पादन गरेका चामलले विना भन्सार भारतबाट अवैद्य रुपमा आउने चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा अर्बाैँ लगानी रहेका स्वेदशी चामल उद्योगहरु बन्द हुने अवस्थामा पुगेको संघका प्रदेशा अध्यक्ष तिवारीले बताउनुभयो ।
“भैरहवा नाकासहित आसपासका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तुका छोटी भन्सारबाट अनाधिकृत रुपमा चामल भित्रिरहेकोले यहाँका उद्योगहरु प्रत्यक्ष मारमा परेका छन्, यही अवस्था रहेमा आगामी दिनमा स्थानीय चामल उद्योग बन्द गर्नुको विकल्प छैन्,अवैद्य तरिकाबाट आउने चामलमा रोक लगाई स्वदेशी उद्योगको संरक्षण गरिदिन प्रशासनसँग अनुरोध छ”, अध्यक्ष तिवारीले भन्नुभयो ।
संघका प्रदेश उपाध्यक्ष नगेन्द्र अग्रहरीले भारतमा स्टीम चामल प्रतिबन्ध रहँदा पनि नेपालमा निर्वाध आयत भईरहेको भन्दै त्यसको वैधानिकता माथि प्रश्न उठेको बताउनुभयो । विचौलियाले नक्कली भिसिटिएस प्रयोग गरि चामलको अवैद्य आयत गर्ने गरेकोले यसको स्रोत खोजी गर्न र सीमा नाकामा कडाई गर्न उपाध्यक्ष अग्रहरीले माग गर्नुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले भुजहवा र त्यसदेखि पूर्वका सीमानाकाबाट अवैद्य रुपमा चोरीपैठारी गरि चामलको आयात भईरहेको दाबी गर्नुभयो । भारतबाट धान आयात गर्दा २५ प्रतिशत भन्सार तिरेर ल्याउनुपर्ने बाध्यता रहेको र अवैद्य रुपमा आउने चामलसँग यहाँका उद्योगले उत्पादन गरेको चामलले प्रतिस्पर्धा गर्न नसक्दा धेरै उद्योग बन्द हुने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पन्थीले प्रशासन प्रहरी अवैद्य रुपमा आउने कुनै पनि विना भन्सार आयात हुन नदिन कठोर रुपमा लागिरहेको र अहिले धेरै हदसम्म नियन्त्रणमा रहेको बताउनुभयो । अवैद्य रुपमा चामलको आयात भएको भए तत्काल सूचना दिन आग्रह गर्दै प्रजिअ पन्थीले यस्ता कार्यमा संलग्नलाई तत्काल कारवाही गर्ने बताउनुभयो । स्वेदशी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ आयात, उत्पादनदेखि बजारीकरणसम्मका समस्या समाधानमा राज्य गम्भीर रहेको पनि प्रजिअ पन्थीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस