२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पुरातात्विक स्थल पण्डितपुरबाट सम्पदा संरक्षण तथा सरसफाइ अभियान शुरु

२०८० पौष २१, शनिबार प्रकाशित ( महिना अघि) ३८० पाठक संख्या

मोहन पौडेल
परासी, २१ पुस । जिल्ला भित्रका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यसहित पश्चिम नवलपरासीमा सम्पदा संरक्षण तथा सरसफाइ अभियान शुरु गरिएको छ। । जिल्ला समन्वय समिति(जिसस) नवलपरासी र गोरखदल गण रामग्राम व्यारेकको संयुक्त आयोजना एवं रामग्राम नगरपालिकाको सहजीकरणमा आज बुद्धकालिन स्थल पण्डितपुरबाट उक्त अभियान शुरु गरिएको हो ।
नवलपरासी जिल्ला भित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन, संरक्षण,प्रचारप्रसार गर्न सम्पदा संरक्षण तथा सरसफाइ अभियान आजदेखि शुरु गरिएको जिसस प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । उचित प्रचाप्रसार,संरक्षण र विकास हुन नसकि ओझेलमा रहेको भगवान् गौतम बुद्धको मावली, कोलिया गणराज्यको राजधानी रामग्राम–१८ स्थित पण्डितपुरबाट अभियानको थालनी गरिएको उहाँले बताउनुभयो ।
यस किसिमको अभियानले आफ्नो क्षेत्रमा रहेका सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास गर्न स्थानीयवासी, स्थानीय सरकार एवं सरोकारवालाको अपनत्व र सक्रियता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको गोरखदल गण परासीका प्रमुख ज्ञानकाजी श्रेष्ठले बताउनुभयो । रामग्रामबाट शुरु भएको यो अभियानलाई जिल्लाका सातै स्थानीय तहमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, रामग्राम नगरपालिका, नेपाली सेनाको गोरखदल गण परासी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी लगायतको बृहत सहभागितामा आज पण्डितपुर क्षेत्रको सरसफाइ गरिएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले जानकारी दिनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाकी कार्यबाहक मेयर सम्झना चौधरीले बुद्धको मावली पण्डितपुरको विकासमा नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । यस क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले गत बुद्धजयन्तीमा पहिलो पटक धातुजात्रा निकालेको स्मरण गराउँदै कार्यबाहक मेयर चौध्रीले यस क्षेत्रको उत्खनन्, अनुसन्धानको काम भईरहेको बताउनुभयो ।
यस किसिमका महत्वपूर्ण सम्पदाको संरक्षण र प्रवद्र्धनमा स्थानीयवासी पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । जिल्लामा आजदेखि शुरु भएको सरसफाइ अभियानले जिल्ला भित्र रहेका अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको प्रवद्र्धनमा टेवा पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थानीय सम्पदाको संरक्षणका लागि प्रशासनले मानव स्रोत परिचालन गरेर सहयोग गर्ने र यस क्षेत्रमा आवश्यक हुने पूर्वाधार निर्माणमा भने स्थानीय सरकारले अग्रसरता लिएर पहल गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ पन्थीले पर्यटक आएनन् भनेर चिन्ता लिनु भन्दा पनि पर्यटक आउने वातावरण बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । जिल्ला भित्र यति महत्वपूर्ण सम्पदाहरु हुँदा पनि संरक्षण हुन नसक्नु बिडम्बना रहेको बताउँदै उहाँले सबै मिलेर यहाँको विकासमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार बेचु गौडले पण्डितपुर क्षेत्रको ऐतिहासिक महत्व एवं रामप्रसाद पाण्डेले बुद्धको शिक्षा र साधनाको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।

22

 

33

 

55

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस