२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा चोरीका घटनामा संलग्न रहेको अभियोगमा ६ जना व्यक्ति पक्राउ

२०८० पौष ९, सोमबार प्रकाशित ( महिना अघि) ५४२ पाठक संख्या

मोहन पौडेल
परासी, ९ पुस । पश्चिम नवलपरासी प्रहरीले श्रृंखलाबद्ध चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम परासी र सुनवल क्षेत्रमा विभिन्न समयमा भएका चोरीका घटनामा सलग्न रहेको अभियोगमा ६ जना व्यक्तिहरुलाई चोरीका सामानसहित पक्राउ गरि सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार परासीस्थित स्वास्थ्य कार्यालयमा शनिबार राती चोरी गर्ने तीन जनालाई रामग्राम–७ उजैनीबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामग्राम–६ पोखरापालीका १९ वर्षीय कृष्णमोहन अग्रहरी, वडा नं. ५ का २७ वर्षीय अमृत अग्रहरी र वडा नं.७ उजैनीका ३१ वर्षीय रोशन आचार्य रहेका छन् ।
उनीहरुले स्वास्थ्य कार्यालयको तीन तले भवनको दोस्रो तलास्थित वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलको कार्यकक्षबाट फोटोकपी, प्रिन्टरसहितको एक थान कम्प्युटर र भुई तलामा राखिएको निलो रंगको माउण्टेन साईकल एक थान गरि रु एक लाख १३ हजार बराबरको सामान चोरी गरेको डिएसपी बोहराले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज विहान उजैनी चोकबाट उनीहरुलाई चोरी गरिएका सामानसहित पक्राउ गरेको हो ।
यस्तै सुनवल नगरपालिका क्षेत्र भित्र श्रृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१ घर भई हाल सुनवल–३ खैरेनी बस्ने २१ वर्षीय अविनाश पंगेनी, गुल्मीको मुसीकोट–९ घरभई हाल सुनवल–३ बस्ने १९ वर्षीय सुबास विश्वकर्मा र रोल्पाको खुमेल–३ घर भई सुनवल–३ बस्ने १९ वर्षीय मिलन घर्ति मगर रहेको डिएसपी बोहराले बताउनुभयो ।
उक्त गिरोहले सुनवलका विभिन्न व्यक्तिहरुको घरबाट फरक फरक मिति र समयमा चोरी गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका गिरोहले आफ्नो डेरामा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाईल, दुई थान घडी, एक थान पेनड्राईभ, एक थान कार्डरिटर,दुई थान चाँदीको बाला, एक थान ग्यास चुलो अमोटेटिक, एक थान ग्यास सिलिण्डर, एक थान हेडफोन, एक थान प्रेसर कुकर, दुई थान स्टिलको थाल, एक थान ईलेक्ट्रोनिक जग र चार थान तामाको पाला बरामद गरेको छ ।पक्राउ परेका व्यक्तिहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस