२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी खानेपानीको साधारणसभा शुरु,शुद्ध पिउने पानी र पाईपलाईन बिस्तारमा सहजीकरण गर्छाैँ : मेयर यादव

२०८० पौष ६, शुक्रबार प्रकाशित ( महिना अघि) ३३१ पाठक संख्या

मोहन पौडेल
परासी, ६ पुस । पश्चिम नवलपरासीको परासीस्थित परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौँ वार्षिक साधारणसभा शुरु भएको छ । परासी खानेपानी समितिको आज परासीमा एक कार्यक्रमकाबीच रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा नगर प्रमुख यादवले नगरवासीलाई शुद्ध पिउने पानीको पहुँचमा पुर्याउन प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । निर्वाचनको समयमा सबै नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने आफ्नो घोषणापत्रमै उल्लेख रहेको बताउँदै नगर प्रमुख यादवले खानेपानीलाई प्राथमिकता दिएर नगरपालिका अघि बढिरहेको दाबी गर्नुभयो ।
नगर प्रमुख यादवले यस वर्ष खानेपानी विस्तारका लागि रु ८० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।सबै नगरवासीको घरघरमा खानेपानी विस्तार गर्न कानूनी रुपमा रहेका केही बाधा अड्चनका कारण बजेट विनियोजन गरेर पनि खर्च गर्न समस्या रहेको उहाँको भनाई थियो ।
परासी खानेपानी आयोजनाको परासी र पोखरापालीमा गरि दुई वटा ट्यान्कीबाट परासी क्षेत्रका सबै घरधुरिलाई खानेपानीको सुविधा उपलब्ध गराउन सकिने तर पाईपलाईन विस्तार गर्न उपभोक्ताले नै खन्ने पुर्ने काम गर्नुपर्ने कानूनी व्यवस्थाले पाईपलाईन विस्तारमा समस्या भएको नगर प्रमुख यादवले बताउनुभयो ।
उपभोक्ताले पाईप विस्तारका लागि खन्ने पुर्ने काम गर्न नखोज्ने र नगरपालिकाले गर्दा अख्तियारले दुःख दिने प्रवृत्ति रहेको उहाँले उल्लेख गर्नुभयो । पाईपलाईन विस्तारको क्रममा देखिएका अवरोध हटाउन नगरपालिकाले सहजीकरण गर्ने नगर प्रमुख यादवले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थीले रामग्राम नगरपालिकाको वडा नं.१,२,३,४,५,६,८,१० र १२ सम्म खानेपानी सेवा विस्तार गरेको जानकारी दिनुभयो । यस आयोजनाको परासीमा रहेको पूरानो खानेपानी ट्यान्की र पोखरापालीमा निर्माण भएको नयाँ खानेपानी ट्यान्की मिलाएर परासीबासीलाई प्रर्याप्त मात्रामा पानी उपलब्ध गराउँदै आएको तर सेवा क्षेत्र अन्तरगतका कतिपय टोलहरुमा पाईपलाईन विस्तारमा अझै पनि समस्या रहेको अध्यक्ष पन्थीले बताउनुभयो । पाईपलाईन बिस्तारमा सहजीकरण र बक्यौता उठ्न बाँकी रहेको झण्डै ४३ लाख रुपैँया रकम असुलीमा सहयोग गर्न अध्यक्ष पन्थीले आग्रह गर्नुभयो ।
साधारणसभाको उद्घाटन सत्रमा समितिका सचिव उमाशंकर उपाध्यायले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नुरुल्लाह मियाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । आज गणपुरक संख्या नपुगेका कारण आगामी पुस १३ गते पुनः साधारणसभाको बन्द सत्र गर्ने गरि स्थगित गरिएको अध्यक्ष पन्थीले बताउनुभयो । परासी खानेपानी समिति अन्तरगत एक हजार ७१५ धारा जडान रहेका छन् ।
उक्त अवसरमा नेपाली कांग्रेसका उपसभापति विक्रम यादव, नेकपा एमालेकी उपसचिव रिंगला यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामग्राम नगर सभापति रबी पाण्डे, राप्रपाका वरिष्ठ जिल्ला सदस्य राजेश यादव, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पटेल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने समितिका उपाध्यक्ष चन्द्रप्रकाश गुप्तको स्वागत मनतव्य र पत्रकार मोहन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस