२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मानवअधिकार हननका घटनामा वृद्धि : ईन्सेक

२०८० मंसिर २८, बिहिबार प्रकाशित ( महिना अघि) ४६६ पाठक संख्या

मोहन पौडेल
परासी, २८ मंसिर । पश्चिम नवलपरासीमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दै गएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक)ले आज एक वर्ष अवधिको मानवअधिकार घटनाको अद्यावाधिक सार्वजनिक गर्दै मानवअधिकार उल्लंघनका घटना बृद्धि हुँर्दै गएको जानकारी गराएको हो ।
जिल्लामा खासगरि घरेलु हिंसाका घटना अधिक मात्रामा बढिरहेको ईन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले दैनिक ट्वान्टीफोर खबरलाई बताउनुभयो । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको घटना हेर्दा जिल्लामा करिब १२१ वटा घरेलु हिंसाका मात्रै घटना भएको उहाँले बताउनुभयो । मदिराजन्य बस्तुको अत्याधिक प्रयोग,खुल्ला विक्री वितरण, गरिबी, अशिक्षा, रुढिवादी परम्परा लगायतका कारण घरेलु हिंसामा कमी आउन नसकेको बताईएको छ ।
यस्तै बालअधिकार हननका २१ वटा,बलात्कार ११ वटा,परिवारबाट हत्या ५ वटासहित जातिय विभेद,कुटपिट लगायतका झण्डै डेढ सय मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना विगत एक वर्षमा भएको तथ्यांक रहेको ईन्सेक प्रतिनिधि पराजुलीले बताउनुभयो । कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाहरुले पनि जिल्लामा मानवअधिकार हनन तथा ज्यादतीका घटना बृद्धि हुँदै जानु राम्रो नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले मानवअधिकारमैत्री वातावरण बनाउन जिल्लाका सबै पक्ष मिलेर लाग्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले जिल्लामा बाहिर नआएका अझै धेरै घटनाहरु हुन सक्ने बताउँदै मानवअधिकार पुस्तकमा सकेसम्म छुटेका घटनालाई पनि समावेश गर्नुपर्ने तथा स्थानीय तहसँग समन्वय गरेर घटना संकलन गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहका न्यायिक समितिका संयोजकहरुलाई सहयोगको लागि आफुले समन्वय गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
पूर्व राज्यमन्त्री घनश्याम यादवले अधिकांंस घटना अशिक्षा र बेरोजगारीका कारण हुने गरेका बताउँदै मानव अधिकार उल्लङघन न्यूनीकरण गर्न सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले घटना न्युनीकरण र सत्य तथ्य बाहिर ल्याउन समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । जिल्ला अदालतका श्रेस्तेदार जानकि रमण यादवले केही घटनाहरु छुटेको भन्दै छुटेका घटनाहरुलाई समावेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम प्रसाद यादव, एमालेका उपाध्यक्ष डोलराज भण्डारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामानन्द यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य पुरन चौधरी,जसपाका सुर्दशन खरबार,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुनाराम पौडेल, नागरिक सभाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,नेपाल रेडक्रस सोसाईटीका वरिष्ठ सदस्य अर्जुन बहादुर क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगयातको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस