२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राममा नमुना युवा नगरसभा तथा प्रशिक्षण शुरु

२०८० मंसिर २८, बिहिबार प्रकाशित ( महिना अघि) ३४८ पाठक संख्या

परासी, २८ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नमुना युवा नगरसभा तथा प्रशिक्षण शुरु भएको छ । पाँच दिवसीय उक्त कार्यक्रमको आज नगर उपप्रमुख सम्झना चौधरीले उद्घाटन गर्नुभयो ।
युवाहरुलाई स्थानीय तह सञ्चालनको विषयमा शैद्धान्तिक तथा व्यवहारिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नमुना युवा नगरसभा अन्तर्गत प्रशिक्षण तथा अभ्यास कार्यक्रम आजदेखि शुरु गरिएको नगरपालिकाले जनाएको छ । तीन दिन प्रशिक्षण र २ दिन नमुना नगरसभाबारे अभ्यास गराईनेछ ।
कार्यक्रमको सहजीकरण गरिरहेको न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपप्रमुख चौधरीले नगर विकासमा युवाहरुको चासो र सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको संरचना र यसको अभ्यासबारे युवाहरुलाई जानकारी हुन आवश्यक भएकोले पनि नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।
नमुना नगरसभाको प्रशिक्षणले स्थानीय सरकारबारे जानकारी भई विभिन्न भ्रमबाट मुक्त हुन र अरुलाई सचेत गराउन पनि सकिने उहाँको भनाई थियो । कार्यक्रममा रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादवले नगरपालिकाप्रति युवाहरुको अधिकार र कर्तब्य दुबै रहेकाले सचेत युवा भई व्यक्तित्व विकास र नगरपालिकालाई समेत योगदान गर्न आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा वडा नं. १२ का कार्यबाहक वडाध्यक्ष पशुपति प्रसाद कोईरी, वडासचिव ललिता ढुङ्गेल, प्रशिक्षक राकेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।
पाँच दिने उक्त कार्यक्रममा स्थानीय सरकारको निर्वाचन, नगरसभा, नगर कार्यपालिका गठन र यसको कामकारवाहीबारेको प्रशिक्षण दिई नमुना निर्वाचन समेत गरिने छ भने नमुना जनप्रतिनिधिबाट नगरसभा सञ्चालनको अभ्यास पनि गरिने प्रशिक्षक संदिप कुमार यादवले जानकारी दिनुभयो । नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा नगरका १८ वटै वडाबाट १६ देखि २४ वर्ष भित्रका युवाहरुलाई समावेशी तरिकाले हरेक वडाबाट ३÷३ जना गरी ५४ जना र नगरपालिकाले छनौट गरेको ६ जना गरी ६० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

N2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस