२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

विश्वशान्तिको कामना गर्दै रामग्राम स्तुपमा ८ हजार दीप प्रज्वलन

२०८० मंसिर २५, सोमबार प्रकाशित ( महिना अघि) ३१६ पाठक संख्या

 

परासी,२५ मंसिर । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै १ हजार ११२ शान्तिदीप क्यान्डल र ७ हजार दीप प्रज्वलन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले शान्दीप क्यान्डल र दीप प्रज्वलनको उद्घाटन गर्नुभयो ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा रामग्राम स्तुप क्षेत्रको पुनस्र्थापना, संरक्षण र विकासका लागी दुरदर्शि परियोजनाको शुभारम्भको अघिल्लो दिन रामग्राममा शान्तिदीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामको विकास गर्ने बताउनुभयो । बुद्धको अस्तुधातु रहेको रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने मन्त्री किराँतीको भनाइ थियोे ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले रामग्रामलाई लुम्बिनीकै जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताउनुभयो। उहाँले विश्वका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको दाबी गर्नुभयो । उहाँले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्विक स्थलहरूको संरक्षण र वरपर विहारलगायत पूर्वाधार विकास गर्ने बताउनुभयो।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगरपमुख धनपत यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरैपटक ध्यानाकर्षण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तुपको महत्त्व विश्वमाझ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तुधातु रहेको पवित्र स्थल रहेकाले यसको महत्त्व विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभएको थियो ।

रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो। यूनेस्को विश्व सम्पदाको सम्भावित सूचीमा रहेको रामग्राम स्तुपको पुरातात्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ।

रामग्रामको पुरातात्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम हुन गइरहेको छ। कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। मध्याह्न १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्तिदीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डसहित पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहनेछ। रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस