२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल नगरपालिकाको भौतिक प्रगति ९८ प्रतिशत,वित्तीय प्रगति ९५ प्रतिशत

२०८० मंसिर २३, शनिबार प्रकाशित ( महिना अघि) ११८१ पाठक संख्या

मोहन पौडेल
परासी, २३ मंसिर । गएको वर्षैभरि आन्तरिक किचलोमा रुमल्लिएको पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले भौतिक र वित्तीय हिसाबमा भने उत्कृष्ट प्रगति हासिल गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९।८० मा सञ्चालन गरेका योजनाको कार्यान्वयनका आधारमा भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत हासिल गर्न सफल भएको हो ।
नगरपालिकाले गत आर्थिक वर्षमा ५२९ वटा वार्षिक कार्यक्रम तथा योजना स्विकृत गरेकोमा ५२० योजना कार्यान्वयन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिद्धारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा नगरको प्रगति प्रस्तुत गर्दै गिरीले कूल योजनाको आधारमा यो ९८ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिनुभएको हो ।
यसैगरी नगरपालिकाले रकम निकासाका आधारमा कूल ९५ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको गिरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष नगरसभाले स्विकृत वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि कूल रु एक अरब २३ करोड ७१ लख ८५ हजार ७०२ को बजेट अनुमानित गरेको थियो । त्यसमध्ये यथार्थ आय एक अरब १५ करोड २८ लाख ३८ हजार ४४७ रुपैँया भई कूल रु एक अरब नौ करोड २० लाख ५८ हजार १२२ खर्च भएको छ ।
नगरपालिकाले चालुतर्फ रु ४९ करोड १० लाख ४४ हजार ५१ र पुँजीगत तर्फ ४७ करोड ५२ लाख ३४ हजार ५८० रुपैयाँ खर्च गरेको हो । संघ र प्रदेश दुवैको गरि चार करोड ४० लाख ५६ हजार रुपैयाँ फिर्ता गएको नगरपालिकाले जनाएको छ । संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम खर्च हुन सकेन भने सशर्त अनुदान र राजस्व बाँडफाँड निकासीको आधारमा शत प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिनुभयो ।
प्रदेशबाट प्राप्त समपुरक अनुदान ९३ प्रतिशत, विशेष अनुदान ८५ प्रतिशत,सशर्त अनुदान सत प्रतिशत र राजस्व बाँडफाँड ८३ प्रतिशत खर्च भएको छ ।गत आवमा सिलिङ अनुसारको बजेट प्राप्त नहुनु र आर्थिक् वर्षको अन्त्यमा बजेटका स्रोतमा कटौती गर्दा सम्पन्न भएका केही योजनाको भुक्तानी गर्न समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।
विषयगत क्षेत्रको आधारमा सुनवल नगरपालिकाले आर्थिक विकासतर्फ ६१.१७ प्रतिशत, सामाजिक विकास तर्फ ८६.२९ प्रतिशत,पूर्वाधार विकास तर्फ ६८.११ प्रतिशत प्रगति हासिल गरेको छ भने वन वातावरण तथा विपद् व्यवस्थानतर्फ ७८.१० प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७.७४ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ४८.५२ प्रतिशत प्रगति हासिल गरेको सुनवल नगरपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।
सुनवल नगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक आम्दानी लक्ष्यको आधारमा ८९.१९ प्रतिशत संकलन गर्न सफल भएको छ । गत आवमा रु १४ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएकोमा रु १२ करोड ४८ लाख ६० हजार ५६९ रुपैँया संकलन भएको योजना शाखा प्रमुख ढकालले बताउनुभयो । नदीजन्य पदार्थको संकलन तथा उत्खननबाट रु पाँच करोड ४० लाख १७ हजार २७९ र अन्य आम्दानी रु पाँच करोड ८८ लाख ९६ हजार ७८९ प्राप्त भएको उहाँले बताउनुभयो । आन्तरिक आय मध्ये रु नौ करोड ५० लाख खर्च भएको छ ।
गत आर्थिक् वर्षमा सञ्चालित योजना तथा कार्यक्रमबाट नगरका ५८ हजार ३३० जनसंख्या प्रत्यक्ष लाभान्वित भई चार हजार ५६९ जनाले रोजगारी समेत प्राप्त गरेको नगरपालिकाको दाबी छ । सोही अवधिमा नगरपालिकाले सञ्चालन गरेका सीप विकास कार्यक्रम मार्फत एक हजार २५० जनालाई क्षमता तथा सीप विकास तालिम प्रदान गरिएको योजना शाखा प्रमुख ढकालले बताउनुभयो ।
समृद्ध सुनवल सुखी सुनवलवासीको नारालाई सार्थक बनाउन नगरपालिकाले नगरवासीलाई सहज, सरल,छिटो,छरितो र प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आएको नगर प्रमुख बिमला अर्याल बताउनुहुन्छ । शैक्षिक क्षेत्रमा सुनवल जिल्लाकै नमूना पालिकाको रुपमा परिचित छ । यसले पछिल्लो पटक महिला समता विद्यालय र संस्कृत गुरुकुल विद्यालय पनि सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले यसै आर्थिक वर्षदेखि आफ्नै सुविधासम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै आएको छ भने सबै वडा कार्यालय,वडामै सञ्चालन गरेको छ । नगरपालिका तथा वडा कार्यालयबाट सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा प्रदान गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो । यस्तै नगरका सुत्केरी महिलालाई पोषणबापत रु तीन हजार, मृत्यु संस्कार वापत रु पाँच हजार, महिला स्वास्थ्य स्वयमसेविकालाई मासिक रु चार हजार नगरपालिकाको आन्तरिक स्रोतबाट उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । हिंसामा परेका महिलालाई आश्रय दिनको लागि लुम्बिनी चिनी उद्योगसँग सहकार्य गरि एक भवन तयारी अवस्थामा राखिएको छ भने मोतियाविन्दु भएका नगरवासीलाई निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको छ ।
सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका हो भने पछिल्लो पटक नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी पालिकाको रुपमा समेत घोषणा गरिएको थियो । यसैगरी वडा नं.४,५,६ र ८ मा रहेका स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री घोषणा गर्ने तयारी गरिएको छ भने सुनवल स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
सुनवल नगरपालिकाले विभिन्न ऐन, नियमावली,कार्यविधि, निर्देशिका र मापदण्ड गरि हालसम्म ६८ वटा कानून निर्माण गरिसकेको नगर उपप्रमुख सूर्यप्रसाद दुवेले बताउनुभयो । जसमध्ये विषयगत योजना ३ वटा, ऐन २८ वटा, नियमावली ५ वटा, कार्यविधि २६ वटा, निर्देशिका ३ वटा र मापदण्ड ३ वटा रहेका छन् । चालु आर्थिक वर्षमा पनि केही कानून निर्माण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले न्यायिक समितिमा दर्ता हुने विवादलाई पनि छिटो,छरितो रुपमा निरुपण गर्दै आएको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस