२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीको जिल्ला स्तरीय वार्षिक समिक्षा सम्पन्न

२०८० मंसिर २२, शुक्रबार प्रकाशित ( महिना अघि) ४५६ पाठक संख्या

मोहन पौडेल
परासी, २२ मंसिर । पश्चिम नवलपरासी जिल्लाको आर्थिक वर्ष २०७९।०८० को जिल्ला स्तरीय वार्षिक समिक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति परासीको आयोजनामा जिल्लास्थित स्थानीय तह तथा सरकारी कार्यालयबाट वार्षिक रुपमा सम्पादन भएका गतिविधिको विषयमा समिक्षा गरिएको हो ।
कार्यक्रममा स्थनीय तहका जनप्रतिनिधि एवं सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुबीच जिल्लामा भएका विभिन्न योजना र योजनामा भएको प्रगति, असल अभ्यास, समस्या तथा चुनौती लगायतका विषयमा छलफल भएको थियो । आज सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा जिल्लामा रहेका सात स्थानीय तहसहित ३६ वटा सरकारी कार्यालयहरुले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।
िजल्लामा संघीय सरकार अन्तरगतका २०,प्रदेश सरकार अन्तरगतका १० र संस्थान दुई र स्थानीय सरकार सात गरि ३९ कार्यालय रहेका छन् । सबै जसो कार्यालयमा बजेट प्राप्त हुँदा पनि बजेट खर्च, योजना कार्यान्वयन र लक्ष्य प्राप्तिमा मा कमजोर देखिएका छन् । अधिकांश कार्यालयहरुले बजेट कटौती, लागत सहभागिता नहुनु,जनशक्ति अभाव लगायतका समस्या दर्शाएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । बजेट खर्च हुन नसक्नुका कारण र समस्या समाधानका लागि पहल गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।
पालिकाहरुलाई प्राप्त बजेटको सही सदुपयोग र सरकारी कार्यालयबाट हुने सेवा प्रभावकारी बनाउन जिसस प्रमुख यादवले आग्रह गर्नुभयो । स्थानीय सरकारले नागरिकलाई केन्द्रविन्दुमा राखेर समग्र विषयमा ध्यान दिनुपर्ने बताउँदै उहाँले विकास र समृद्धिका लागि सही योजना छनौट गरि समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सबै कार्यालयले भौतिक र वित्तीय प्रगतिमा सुधार गर्नुपर्ने अवस्था देखिएकोले कार्यक्रम तथा योजना कार्यान्वयनमा ध्यान दिन जोड दिनुभयो । उहाँलाई नागरिकलाई सहज,सरल र सुलभ रुपमा सेवा प्रवाह गर्न र गुणस्तरमा ध्यान दिन पनि आग्रह गर्नुभयो । जिल्ला विकास समिति खारेज भई संघीयता लागू भएपछि जिल्लामा पहिलोपटक जिल्ला समन्यय समितिले सबै सरकारी कार्यालयको एकैठाउँमा वार्षिक समिक्षा आयोजना गरेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस