२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीको छैँठौँ जिल्लासभा सम्पन्न : दुई कार्यविधि पारित, समन्वय थप प्रभावकारी बनाउने निर्णय

२०८० मंसिर २१, बिहिबार प्रकाशित ( महिना अघि) ३९० पाठक संख्या

मोहन पौडेल
परासी, २१ मंसिर । जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को छैँठौँ जिल्ला सभा बिहीबार सम्पन्न भएको छ । परासीमा आयोजित जिल्लासभाले दुई वटा कानून, जिल्ला समन्वय समितिको नीति, कार्यक्रम तथा बजेट र समन्वयलाई प्रभावकारी बनाउने विभिन्न नीतिगत निर्णयहरु पारित गरेको छ ।
जिल्लाका सात वटै पालिकाका प्रमुख र उपप्रमुखहरु सदस्य रहने जिल्लासभाले जिल्ला स्तरीय अनुगमन तथा समन्वय कार्यविधि २०८० र नदीजन्य पदार्थ उत्खनन तथा क्रसर उद्योग सञ्चालन कार्यविधि २०८० पारित गरेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । जिल्लासभाले यी दुई कानून बनाउनु पर्ने जिम्मेवारी रहेपनि हालसम्म कानून बनाईएको थिएन ।
जिल्ला सभाले जिल्ला समन्वय समितिको गत आर्थिक वर्षको कार्यक्रम तथा खर्च अनुमोदन गरेको छ भने आगामी नीति, कार्यक्रम तय गरेको छ । जिससको आगामी आर्थिक वर्षमा रु ५० लाख आय हुने अनुमान गरिएको छ । नदीजन्य पदार्थ उत्खनन तथा संकलन बापत स्थानीय तहले जिससलाई दुई प्रतिशत रकम बाँडफाँड गर्नुपर्ने प्रावधान अनुसार उक्त आय प्राप्त हुने अनुमान गरिएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले जानकारी दिनुभयो ।
जिल्लासभाले जिल्लामा समन्वयलाई प्रभावकारी बनाउने र जिल्लाको विकास निर्माणमा देखिएका समस्या समाधानका लागि पहल गर्न गहन छलफल गरेको जिसस प्रमुख यादवले बताउनुभयो । स्थानीय तहमा योजना कार्यान्वयनको सन्दर्भमा देखिएका समस्याहरु समाधान गर्ने, जिल्लाका सबै निकायसँगको समन्वयात्मक क्रियाकलापलाई प्रभावकारी बनाउने,जिससको निर्माणाधिन भवन सम्पन्न गर्न अपुग रकम संघ र प्रदेश सरकारसँग माग गर्ने र माथिल्लो निकायबाट बजेट प्राप्त हुन नसके स्थानीय पालिकाहरुबाट व्यवस्थापन गर्ने सहमति पनि भएको छ ।
जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सरिता भुसाल खनालले तीन तहका सरकार मध्ये सबैभन्दा शक्तिशाली स्थानीय सरकार रहेको र जनताले पनि स्थानीय सरकारबाटै धेरै आशा राखेकोले जनतालाई केन्द्रमा राखेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गरि विकास कार्य अघि बढाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
सुगम जिल्लाको रुपमा परिचित पश्चिम नवलपरासी जिल्लाको विकासमा सबै एक भएर लाग्नुपर्ने बताउँदै सांसद खनालले सांसदहरु कानून निर्माणमा बढी ध्यान दिनुपर्ने अवस्था रहेपनि जनतालाई विकास चाहिएकोले सन्तुलन मिलाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सांँसद खनालले जिल्लामा रहेका बुद्धस्थलहरुलाई बुद्ध सर्किटमा समावेश गर्न आफूले सदनमा निरन्तर आवाज उठाईरहेको पनि बताउनुभयो ।
उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार, खड्ग बस्नेत, बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ता, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल,सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष गुणनिधि तिवारी लगायतले जिल्ला समन्वय समिति नवलपरासीको भूमिका हालसम्म प्रभावकारी रहेको बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस