२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जलवायु परिवर्तन सम्बन्धि स्थानीय अनुकूलन नीति बनाउँदै सुनवल नगरपालिका

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) ३१९ पाठक संख्या

मोहन पौडेल
परासी, २० मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जलवायु परिवर्तन स्थानीय अनुकूलन सम्बन्धि नीति निर्माण गर्ने भएको छ । जलवायु परिवर्तनका कारण सुनवल पनि जोखिममा रहेकोले यसको प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न स्थानीय नीति बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
जलवायु परिवर्तन सम्बन्धि स्थानीय अनुकूलन नीति बनाउन एक मस्यौदा समिति गठन गरिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । नगरपालिकाद्धारा आज सुनवलमा आयोजित जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण तथा विपद् व्यवस्थापन समितिको बैठकबाट सुनवल–६ का वडा अध्यक्ष एवं नगरका वन,वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक हिमलाल शर्मा चापागाई(दीलिप)को संयोजकत्वमा नौ सदस्यीय मस्यौदा समिति गठन गरिएको उहाँले बताउनुभयो ।
मस्यौदा निर्माणका लागि द लेप्रोसी मिसन नेपाल,ईम्प्याक्ट परियोजनाले प्राविधिक तथा आर्थिक सहयोग गर्ने जनाएको छ । प्राकृतिक विपद र जलवायु परिवर्तनबाट देखिएको असरले सुनवल नगरपालिका पनि प्रभावित भईरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गिरीले ठोस नीति बनाएर अघि बढ्दा सहज हुने उल्लेख गर्नुभयो ।नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख मोहनराज ज्ञवालीले सुनवल नगरपालिकाले जलवायु परिवर्तन सम्बन्धि नीति नबनाएपनि वार्षिक नीति,कार्यक्रम तथा योजनामा यस विषयलाई प्राथमिकता दिँदै आएके बताउनुभयो ।
नीति नियमहरुले निर्देशित गरे बमोजिम योजना तर्जुमाको समयदेखि नै जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालनमा टेवा पुग्ने नगरपालिकाका वन,वातवारण तथा विपद व्यवस्थापन शाखाका प्रमुख चक्रपाणि भणडरीले बताउनुभयो । सुनवल नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१३ का वडा अध्यक्ष कृष्णप्रसाद बगालेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस