२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पञ्चवर्षीय रोजगार रणनीतिक योजना बनाउँदै पाल्हीनन्दन गाउँपालिका

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) ५०० पाठक संख्या

मोहन पौडेल
परासी, २० मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पञ्चवर्षीय रोजगार रणनीतिक योजना निर्माण गर्ने भएको छ । त्यसको लागि रोजगार शाखाले रोजगार योजनाको प्रारम्भिक मस्यौदा तयार गरि हस्तान्तरण गरेको छ ।
गाउँपालिका भित्र रहेको बेरोजगारी समस्या समाधान गर्न रणनीतिक योजना बनाएर अघि बढ्न लागिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । बेरोजगारीका कारण युवाहरु कुलतमा फस्ने, गरिबी बढ्दै जाने, सामाजिक विसंगति, कुरीति नियन्त्रणमा अवरोध हुने खालका समस्याहरु बढिरहेकोले पनि गाउँपालिकाले स्थानीय स्तरमा रोजगारी सृजना गर्न सक्ने क्षेत्रहरुको पहिचान गरि रोजगारीका अवसर सृजना गर्ने अध्यक्ष गुप्ताले बताउनुभयो ।
पालिका भित्र रहेका सीप विकास, उद्यमशीलता, रोजगारीको तथ्यांक संकलन र विश्लेषण गरि अवसरको पहिचान गर्न,स्थानीय माग र आवश्यकताको आधारमा श्रम बजारको नीति बमोजिम कार्यक्रम तथा बजेट निर्माण र कार्यान्वयन गर्न, श्रम बजारको माग बमोजिम, जनशक्तिको उत्पादन, उत्पादकत्व, उद्यमशीलता अभिवृद्धि गरि आर्थिक विकासमा योगदान गर्न,गाउँपालिका भित्र दक्ष, प्रतिस्पर्धी र उद्यमशील मानव स्रोतको विकास गर्न रोजगार रणनीतिक योजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो ।
यो योजना मार्फत गाउँपालिकाबाट नागरिकलाई व्यवसायिक सीप विकास, रोजगारी प्रवद्र्धन, उत्पादनशील रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन, स्वरोजगार, बैदेशिक रोजगारीमा जानेलाई दिईने सेवा, बैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सामाजिक, आर्थिक, पारिवारिक रुपमा पुनःस्थापना तथा पुनः एकिकरण लगायतका सेवा प्रवाह गर्न पनि रणनीतिक योजना आवश्यक हुने पौडेलले बताउनुभयो ।
रोजगार रणनीतिक योजना निर्माणको विषयमा आज गाउँपालिकाका कार्यपालिका र विषयत शाखाका कर्मचारीहरुलाई अभिमुखीकरण गरिएको छ । स्वतन्त्र विज्ञ दीपक ज्ञवालीले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा रोजगार योजना कार्यान्वयनमा सघाउ पुर्याउन गाउँपालिकाले आजै रोजगार संवाद मञ्च गठन गरेको छ ।
स्थानीय तहको रोजगार रणनीति निर्माण सम्बन्धी मार्गदर्शन २०८० बमोजिम वडा नं.२ का वडा अध्यक्ष एवं गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक जगदीश गुप्ताको संयोजकत्वमा संवाद मञ्चको समिति गठन गरिएको पाल्हीनन्दन गाउँपालिकाका रोजगार संयोजक कृष्ण ढकालले जानकारी दिनुभयो । यस्तै गाउँपालिका अध्यक्ष गुप्ताको संयोजकत्वमा रोजगार रणनीतिक योजना कार्यान्वयन निर्देशक समिति पनि रहेको उहाँले बताउनुभयो ।
आ.व.२०८०।०८१ देखि आ.व.२०८४।०८५ सम्मका लागि तयार गरिने रणनीतिक योजनाको प्रारम्भिक मस्यौदा आज गाउँपालिका अध्यक्ष गुप्ता, उपाध्यक्ष फातिमा खातुन अन्सारी र प्रमुख प्रशासकीय अधिकृत पौडेललाई हस्तान्तरण गरिएको र आवश्यक छलफल र संशोधन गरि कार्यपालिकाबाट पारित भएपछि लागू हुने रोजगार संयोजक ढकालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस