२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवलमा पहिलोपटक स्वास्थ्य प्रयोगशाला सेवा शुरु

२०८० मंसिर १८, सोमबार प्रकाशित ( महिना अघि) ४९१ पाठक संख्या

मोहन पौडेल
परासी, १८ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलोपटक स्वास्थ्य प्रयोगशाला(ल्याब) सेवा शुरु भएको छ । वडा नं.१ स्थित शहरी स्वास्थ्य केन्द्रमा ल्याब स्थपना गरि आजदेखि सञ्चालनमा ल्याईएको हो ।
नगरमै पहिलोपटक सञ्चालनमा आएको ल्याब सेवाको सोमबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल) र सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख यादवले सुनवलवासीलाई अव सामान्य स्वास्थ्य जाँच गर्न बुटवलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन पनि आग्रह गर्नुभयो । प्रमुख यादवले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्न नगरपालिकालाई पनि सुझाव दिनुभएको थियो ।
सुनवल नगर प्रमुख अर्यालले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । नगरवासीले आफ्नै ठाउँमा सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ नगरपालिका अघि बढिरहेको उहाँको भनाई थियो । सीमित स्रोत साधनकाबीच स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरि नगरपालिकाले काम गरिरहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।
२०७१ सालमा गठित सुनवल नगरपालिकामा अहिलेसम्म ल्याब सेवा थिएन । सुनवलको वडा नं.१ र १२ मा गरि दुई स्थानमा तत्काल प्रयोगशाला सञ्चालन गर्ने नीतिका साथ नगरपालिका अघि बढेको नगर उपप्रमुख सूर्यप्रसाद दुवेले जानकारी दिनुभयो । यस्तै सुनवल स्वास्थ्य चौकी र स्वाठी स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गर्ने नगरपालिकाको तयारी रहेको र यसबाट नगरका सबै क्षेत्रका बासिन्दाले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने उहाँको भनाई थियो ।
यस प्रयोगशालाबाट ३२ प्रकारको सेवा उपलब्ध गराईने सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती, सुत्केरी अपांगता भएका व्यक्ति,असहाय, अशक्त, अति विपन्न र जेष्ठ नागरिकका लागि यस प्रयोगशालाबाट निशुल्क सेवा उपलब्ध हुनेछ भने अन्यलाई पचास प्रतिशतसम्म सहुलियत दिएर सेवा प्रवाह गरिने छ ।
ल्याब स्थापनाका लागि इन्दे्रणी सामाजिक विकास मञ्च बर्दघाट र फेयरमेड फाउण्डेशन नेपालसंगको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले सामाजिक परिचालन तथा ल्याब सामग्री सहयोग गरेको थियो । उक्त अवसरमा ल्याब स्थापनामा सहयोग गर्ने इन्द्रेणी सामाजिक विकास मंच र फेयरमेड फाउण्डेशनका प्रतिनिधिहरुलाई नगरपालिकाले सम्मान समेत गरेको थियो ।

13

कार्यक्रममा सहभागिहरुले ल्याब सेवा सुनवलका लागि अति आवश्यकता रहेको भन्दै यसको सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । नगरको अभियानमा आधारभुत स्वास्थ्य परियोजनाले साझेदारीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको परियोजनाका जिल्ला संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले त्यसको तयारी गरे आगामी माघ महिना सम्ममा ल्याब उदघाटन गर्न सकिने उहाँले बताउनुभयो । आजै स्थापना भएको प्रयोगशालाबाट आजै ६५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस