२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

स्वच्छ बजार, उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनमा स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ : ज्योति बानिया

२०८० मंसिर १७, आईतबार प्रकाशित ( महिना अघि) ४५२ पाठक संख्या

मोहन पौडेल
परासी, १७ मंसिर । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले स्थानीय सरकारले स्थानीय बजार व्यवस्थापनमा चासोका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण र स्वच्छ बजार कायम गर्न तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।
उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासी जिल्ला समितिको आयोजनामा सदरमुकाम परासीमा आयोजित बजार व्यवस्थापनमा स्थानीय तहको भूमिका विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी बानियाल नेपालको संविधानले नै तीन तहका सरकारलाई साझा जिम्मेवारीको रुपमा उक्त जिम्मेवारी रहेको स्मरण गराउनुभयो ।
उपभोक्ताले स्वच्छ र गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउने गरि स्थानीय तहले स्थानीय बजारको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष बानियाले बताउनुभयो । “स्थानीय बजार व्यवस्थापन अन्र्तरत प्रत्येक वस्तु तथा सेवाको उपभोगका लागि एक स्थानमा कम्तिमा तीन वटा छुट्टाछुट्टै स्थल, जहाँ उपभोक्ताले रोज्न पाउने अधिकार कार्यान्वयन गर्न सक्छन्,त्यो किसिमको व्यवस्था हुनुपर्छ, एक स्थानीय तहमा कम्तिमा तीन वटा अस्पताल, तीन वटा बैक, तीन वटा ग्यास स्टेशन जहाँ प्रतिस्पर्धा हुन्छ र उपभोक्ताले स्वच्छ र गुणस्तरीय वस्तु तथा सेवाको उपभोग गर्न पाउँदछ”,उहाँले भन्नुभयो ।
मञ्चका केन्द्रीय अध्यक्ष बानियाले सवै स्थानीय तहले सुपथ मूल्यको पसल सञ्चालन तथा एकिकृत बजार स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन, व्यवसायिक स्वच्छता र उपभोक्तामैत्री बजार व्यवस्थापन अहिलेको आवश्यकता रहेको उहाँले भन्नुभयो । उपभोक्तालाई मर्का पर्दा सुनुवाई गर्न र हानीनोक्सानी वापत क्षतिपूर्ति भराउनुपर्ने कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा समेत उहाँको जोड थियो ।
“स्वच्छ प्रतिस्पर्धा गर्ने व्यापारी र उपभोक्तालाई संरक्षित गर्ने सम्बैधानिक व्यवस्थालाई प्रभावकारी बनाउन सबैले चासो लिनुपर्दछ, उपभोक्ता अधिकारलाई सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ,उपभोक्तालाई पर्ने मौकाको सुनुवाई गर्न उपभोक्ता अदालतको रुपमा रहेको जिल्ला क्षतिपूर्ति सक्रिय हुनुपर्छ”,उहाँले भन्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चकै पहलमा सरकारी अस्पतालले समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था नेपालमा रहेको अध्यक्ष बानियाले बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीकी अध्यक्ष अधिवक्ता सरस्वती शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपमेयर चौधरीले स्थानीय बजार व्यवस्थापन, स्वच्छता तथा बजार अनुगमनका लागि स्थानीय तहहरुले पहल गरिरहेको बताउनुभयो । उहाँले उपभोक्ता सचेत हुन सके स्वच्छ बजार कायम हुने बताउँदै उपभोक्ता सचेतना तथा व्यवसायिक स्वच्छताका लागि आवश्यक बजेट विनियोजन गरि कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सबै क्षेत्रमा वेथिती रहेकोले सबै मिलेर यसको समाधानमा लाग्नुपर्ने बताउनुभयो । संघीय सरकारको प्रतिनिधिको हिसावले पनि आफूले जिल्लामा उपभोक्तामैत्री बजार कायम गर्न पहल गरिरहेको तर सबैको सहयोगको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेल, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, उपभोक्ता हित संरक्षण मञ्चका बर्दघाट नगर अध्यक्ष हुमनाथ आचार्य लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।
उक्त अवसरमा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, सुर्वण प्रभा गुरागाई, केन्द्रीय महासचिव विष्णु तिमिल्सिना, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला तथा पालिका स्तरीय समितिका पदाधिकारीहरु ल्गायतको सहभागिता रहेको थियो ।

Ll

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस