२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल र सुस्ताका खोलाहरुमा ठेक्का लगाउने तयारी, जिल्ला अनुगमन समितिद्धारा स्थलगत अनुगमन

२०८० मंसिर १५, शुक्रबार प्रकाशित ( महिना अघि) ३२१ पाठक संख्या

मोहन पौडेल
परासी, १५ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाका विभिन्न खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका लागि ठेक्का लगाउने तयारी गरिएको छ । खोला ठेक्काका लागि दुवै पालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आईईई) तयार गरि जिल्ला अनुगमन समितिलाई स्वीकृतिका लागि पठाएपछि सो क्षेत्रका खोलाहरुको अनुगमन गरिएको छ ।
शुक्रबार जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को नेतृत्वमा सुनवल नगरपालिकामा रहेका तुरिया, पानभार, भूमही र विशासय खोला तथा सुस्ता गाउँपालिकाको रायपुरवा र नारायणी नदीको ठाडिघाट क्षेत्रको अनुगमन गरिएको हो । पालिकाहरुले नदीजन्य पदार्थ उत्खनन्का लागि आईईई प्रतिवेदनमा प्रस्ताव गरेको खोलाहरुको विभिन्न भागमा नदीजन्य पदार्थको अवस्था, त्यहाँ नदीजन्य पदार्थ उत्खनन गर्दा वातावरणमा पर्ने प्रभाव तथा उत्खनन नगर्दा हुन सक्ने असर लगायतका विषयमा स्थलगत अनुगमन गरिएको जिसस प्रमुख यादवले बताउनुभयो ।

2

अधिकांश खोलाहरुमा पर्याप्त ढुंगा, गिट्टी र बालुवा लगायतका नदीजन्य पदार्थ पर्याप्त मात्रामा रहेको तर उत्खनन नगर्दा खोलाको सतह उच्च भई नजिकको वस्ती जोखिममा पर्नुका साथै कटान नियन्त्रणमा लागि तटबन्ध गर्नुपर्ने अवस्था देखिएको छ । खोलाको ठेक्का नभएकोले दिनहुँ ठूलो परिमाणमा नदीजन्य पदार्थको चोरी तस्करी पनि बढेको पाईएको छ । खोला ठेक्का नलगाउँदा जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित हुँदै आएका छन् भने पालिका स्तरमा हुने विकास निर्माण तथा योजना कार्यान्वयनमा समेत असर पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
खोला ठेक्का प्रक्रिया अघि बढाउनका लागि पालिकाहरुबाट प्राप्त प्राविधिक प्रतिवेदनमा स्थलगत अनुगमनको क्रममा देखिएका केही पक्षहरुलाई समावेश गरि संशोधन गर्न आवश्यक देखिएकोले संशोधन भएर आएपछि जिल्ला अनुगमन समितिको बैठक मार्फत राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिलाई सिफारिस गरिने जिसस प्रमुख यादवले बताउनुभयो । चुरे समितिले अनुमति दिएपछि मात्र पालिकाबाट खोला ठेक्का प्रक्रिया अघि बढ्नेछ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्य, सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस