२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

भुकम्प प्रभावित क्षेत्रमै पुगेर पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताद्धारा पीडितलाई राहत वितरण

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित (0 महिना अघि) ४३७ पाठक संख्या

मोहन पौडेल
परासी, २४ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगेर त्यहाँका भुकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पका कारण पीडित भएका नागरिकलाई अध्यक्ष गुप्ताले प्रभावित क्षेत्रमै पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।
पाल्हीनन्दन गाउँकार्यपालिकाको निर्णय बमोजिम रु तीन लाख बराबरको राहत सामग्री बोकेर अध्यक्ष गुप्ता रुकुम पश्चिम पुग्नुभएको थियो । पाल्हीनन्दन गाउँपालिकाको तर्फबाट लगिएको राहत सामग्री अध्यक्ष गुप्ताले रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्टमार्फत भुकम्प पीडितलाई उपलब्ध गराउनुभएको हो ।
जाजरकोट भुकम्पबाट क्षतिग्रस्त बनेको सानिभेरी गाउँपालिकामा पुगेर जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमसँगको समन्वयमा प्रभावितलाई राहत उपलब्ध गराएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । चामल,चिउरा,कम्बल,त्रिपाल,साबुन,सरफ,सेनेटरी प्याड गरि रु तीन लाख बराबरको राहत सामग्री प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराएको प्रभावित क्षेत्रबाट पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो ।
विनाशकारी भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरि १५३ जनाको मृत्यु भएको थियो भने सयौँ घाईते भएका थिए। भुकम्पपछि सरकारले पीडितहरुको तत्काल उद्धार गरेपनि राहत वितरण, अस्थायी बासस्थान निर्माणमा भईरहेको ढिलाईले पीडितहरु समस्यामा छन् । रुकुम पश्चिम पुग्नुभएका अध्यक्ष गुप्ताले त्यहाँ भुकम्पका कारण क्षतिग्रस्त बनेको संरचनाको अवलोकन गर्दै पीडितहरुको अवस्थाबारे जानकारी पनि लिनुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस