२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

कृषि ज्ञान केन्द्र नवलपरासीको स्थानीय तहसँग छैन् समन्वय, योजना जुध्ने गरेको गुनासो

२०८० आश्विन १९, शुक्रबार प्रकाशित ( महिना अघि) ५३६ पाठक संख्या

मोहन पौडेल
परासी, १९ असोज । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले स्थानीय तहसँग समन्वय सहकार्य नगरेको गुनासो आएको छ । ज्ञान केन्द्रले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय नहुँदा पालिकाले सञ्चालन गरेका योजनासँग जुध्ने र कार्यक्रमहरु पनि प्रभावकारी नहुने गरेको स्थानीय तहहरुको दाबी छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय तहका प्राविधिकहरुसँग गरेको अन्तरक्रिया सहभागिहरुले ज्ञान केन्द्रले समन्वय गरेको गुनासो गरेका हुन् । बर्दघाट नगरपालिकाका कृषि प्राविधिक खुमकान्त न्यौपानेले कृषि ज्ञान केन्द्रले स्थानीय पालिकासँग समन्वय नगरि आफूखुशी योजना सञ्चालन गरेको बताउनुभयो ।
“हामीले कुनै पनि योजना सञ्चालन गर्दा वडाको सिफारिस माग्छौँ, किनकी त्यहाँको वस्तुस्थिति हामीलाई भन्दा वडालाई थाहा हुन्छ, त्यस्तै कृषि ज्ञान केन्द्र हाम्रो अभिभावक हुनुपर्छ, स्थानीय तहसँग समन्वय नगरि आफूखुशी योजना सञ्चालन गर्ने हो भने स्थानीय तहले पनि ज्ञान केन्द्रलाई के को लागि जानकारी गराउने ?” उहाँले भन्नुभयो ।
स्थानीय तहले कृषि क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि समन्वय गर्न खोज्दा पनि वेवास्ता गर्ने गरिएको उहाँको गुनासो थियो । ज्ञान केन्द्रले सञ्चालन गरेका कार्यक्रमबाट किसान पनि निरुत्साहित रहेको न्यौपानेले जिकिर गर्नुभयो ।
सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदीप मिश्राले पनि कृषि ज्ञान केन्द्रले कुनै पनि योजनामा सहकार्य नगरेको गुनासो गर्नुभयो । ज्ञान केन्द्रले आफ्नै खुशीले कार्यक्रम सञ्चालन गर्दा पालिकाका कार्यक्रमसँग जुध्ने, एउटै किसानले दोहोरो सुविधा पाउने, कसैले केही पनि नपाउने जस्ता समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
कृषि प्राविधिकहरुले स्थानीय तह र कृषि ज्ञान केन्द्रको तथ्यांकमा पनि एकरुपता नहुने गरेको बताएका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौवेले आफू हालै मात्र कार्यालय प्रमुख भएर आएको र स्थानीय तहसँग समन्वय गर्दै जाने बताउनुभयो । यसअघि आफू कपिलवस्तुमा रहँदा स्थानीय तहसँग राम्रो समन्वय रहेको बताउँदै उहाँले नवलपरासीमा पनि समन्वय सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो । यो कार्यक्रम पनि समन्वयकै पाटो रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले सातै वटै पालिका र कृषि ज्ञान केन्द्रको कार्यत्रम मिलाउँदा वार्षिक झण्डै १५ करोड रुपैँया कृषिमा खर्च हुने गरेको देखिएपनि लगानी अनुसारको नतिजा भने नदेखिएको बताउनुभयो । उहाँले कृषिका कार्यक्रमलाई उत्पादनमुखी बनाउन जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले गरेको लगानी अनुसारको उत्पादनले जिल्लामा तरकारी तथा खाद्यन्नबाली पर्याप्त पुग्नुपर्ने हो तर कृषिका हरेक कार्यक्रममा सिन्डिकेट छ, कृषि उपकरण वितरण गर्ने नाममा वास्तविक कृषक भन्दा नक्कली कृषकलाई पाल्ने काम गरिएको छ, हामी सबै मिलेर यसलाई सुधार गर्नु आवश्यक छ।”
कृषि ज्ञान केन्द्रले समन्वय र अनुगमन प्रभावकारी बनाउन नसकेको गुनासोप्रति गम्भीर बन्न र आगामी दिनमा सुधार गरेर अघि बढ्न प्रमुख यादवले जोड दिनुभयो ।

K2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस