२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरकारद्धारा नेपाल विद्याभूषणबाट विभूषित डा.अग्रवाललाई परासीमा सम्मान

२०८० आश्विन १३, शनिबार प्रकाशित ( महिना अघि) १४४५ पाठक संख्या

मोहन पौडेल
परासी, १३ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारद्धारा विद्याभूषणबाट विभूषित डा.कृष्ण कुमार अग्रवाललाई परासीमा सम्मान गरिएको छ । मारवाडी सेवा संघ र मारवाडी युवा मञ्च नवलपरासीले आज एक कार्यक्रम गरि राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल डा.अग्रवाललाई सम्मान गरेको हो ।
मारवाडी सेवा संघका जिल्ला अध्यक्ष सुनिल कुमार मोदीको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी युवा मञ्चका केन्द्रीय अध्यक्ष मनोज अग्रवालको प्रमुख आतिथ्यमा परासीमा आयोजित कार्यक्रममा डा.अग्रवाललाई सम्मान पत्रले सम्मान गरिएको हो ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क,ख र ग श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण र कर्मचारीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने क्रममा डा.अग्रवाललाई नेपाल विद्याभूषण क श्रेणीबाट विभूषित गरेको थियो । डा.अग्रवालले काठमाडौँ विश्व विद्यालयबाट २०७६ सालमा नेफ्रोलोजी विषयमा डीएम विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनोज अग्रवालले डा.कृष्ण अग्रवालको सफलताले समग्र मारवाडी समुदायले गौरवको महशुस गरेको बताउनुभयो । डा.अग्रवालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको भन्दै आगामी दिनमा समेत उज्वल भविष्य र सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय मारवाडी युवा मञ्च केन्द्रीय समितिको तर्फबाट समेत डा.अग्रवाललाई सोही अवसरमा सम्मान गरिएको थियो ।
राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल डा.अग्रवालले समग्र मारवाडी समुदाय र परासीबासीकै शिर उचो बनाउने कार्य गरेको मारवाडी सेवा संघका जिल्ला अध्यक्ष सुनिल कुमार मोदीले बताउनुभयो । राष्ट्रले सम्मान गरेको व्यक्तिलाई सम्मान गर्न पाउँदै ज्यादै खुशी लागेको पनि उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा मारवाडी सेवा संघका सल्लाहकार अमरचन्द्र अग्रवालले मारवाडी समुदायको गौरवको रुपमा उदाउनुभएका डा.अग्रवालको सफलताले आफूहरु पनि गौरवान्ति भएको बताउँदै उहाँलाई थप उर्जा र हौसला बढाउन सम्मान गरिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा मारवाडी युवा मञ्चका जिल्ला अध्यक्ष अवध किशोर अग्रवाल, पूर्व अध्यक्ष लक्ष्मण सरावगी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । वरिष्ठ मधुमेह, ब्लड प्रेसर तथा मृगौला रोग विशेषज्ञ डा. अग्रवाल पश्चिम नेपालकै पहिलो र एकमात्र डीएम नेफ्रोलोष्टि हुनुहुन्छ । यूनिभर्सल मेडिकल कलेज भैरहवामा कार्यरत डा.अग्रवाल रामग्राम–५ नवलपरासी निवासी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१५%२%१%

प्रतिक्रिया दिनुहोस