२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मन्त्री श्रेष्ठद्धारा पृथ्वीचन्द्र अस्पतालको अनुगमन, सेवा विस्तारमा ढिलाई नगर्न निर्देशन

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) १२४६ पाठक संख्या

मोहन पौडेल
परासी, १४ जेठ । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्प्ताललाई कोभिड नियन्त्रण र निदानका लागि तीनै तहका सरकारबाट प्राप्त रकम प्रक्रियागत रुपमा छिटो खर्च गरी कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निर्देशन दिनुभएको छ ।
संघीय सरकारले अस्पतालमा अक्सिजन प्लान्ट एचडियु सेवा सञ्चालन तथा विभिन्न उपकरण खरिदका लागि पठाएको करोडौँ रकम र प्रदेश तथा स्थानीय तहले पठाएको रकम पनि कार्यविधि अनुसार तत्काल खर्च गरी तोकिएका सेवा विस्तार गर्न उहाँले जोड दिनुभयो । मन्त्री श्रेष्ठले अस्पतालमा आएको पिसिआर मेसिन तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गर्नुभयो ।
पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालको आज बिहान निरीक्षण गर्दै मन्त्री श्रेष्ठले अस्पतालको सेवा तथा कोभिड नियन्त्रण र उपचारमा भईरहेको पहलका विषयमा चासो राख्नुभएको थियो । उहाँले अस्पताललाई सेवा विस्तार तथा सेवा प्रभावकारी बनाउने विषयमा आईपर्ने समस्या समाधानको लागि सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । आवश्यकता अनुसार प्रदेश सरकार सहयोग गर्न जतिबेला पनि तयार रहेको बताउनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव माधव सापकोटाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अस्पतालको तर्फबाट अस्पतालको अवस्थाबारे जानकारी गराउँदै अस्पतालका अध्यक्ष जगदीश चौधरी, निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले तीनै तहबाट रकम प्राप्त भएपनि पूर्वाधार अभावले काम अघि बढाउन नसकिएको जानकारी गराउनुभएको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले बताउनुभयो ।
पिसिआर मेसिनका सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्रीको लागि भोली टेन्डर निस्कन लागेको, एचडियु सेवा तथा अक्सिजन प्लान्ट जडानको लागि पनि प्रक्रिया शुरु गर्न लागेको जानकारी गराईएको थियो । अस्पतालमा हाल दैनिक ११५ वटा अक्सिजन सिलिन्डर रोटेशनमा चलाईएकोले तत्काल अक्सिजनको अभाव नरहेको र कोभिडका बिरामी पनि घट्दै गएको अस्पतालको तर्फबाट जानकारी गराईएको अधिकारीले बताउनुभयो ।
मन्त्री श्रेष्ठ आजै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिएमसी)को बैठकमा समेत सहभागि भई जिल्लामा कोभिड नियन्त्रणका लागि भईरहेका प्रयास, पृथ्वीचन्द्र अस्पताल र स्थानीय तहहरुबीचको समन्व र साझेदारी , सहकार्य र सहयोगको अवस्था, संकट समाधानमा देखिएका समस्या, उपचाररत विरामीहरुको अवस्था, प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग र समन्वयमा स्थानीयको अपेक्षा लगायतको विषयमा जिल्लाका सरोकारवालासँग चासो राख्नुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव माधव सापकोटाले जानकारी दिनुभयो ।
यस्तै अस्पतालमा संघीय सरकारबाट आएको पिसिआर मेसिन सञ्चालनमा ढिलाई हुनुका कारण र अफ्ठ्यारा समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राख्नुका साथै जिल्लाका स्थानीय तहहरुले सञ्चालन गरिरहेका आईसोलेशन सेन्टरलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%१%

प्रतिक्रिया दिनुहोस