२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाको शिक्षा शाखा प्रमुखको कार्यकक्षमा तालाबन्दी

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( साल अघि) ३०२ पाठक संख्या

बर्दघाट, २६ भदौ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) ले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मंगलवार संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा पुगेको क्रान्तिकारीको टोलीले शाखा प्रमुख पन्थीलाई बाहिर निस्कन आग्रह गर्दै ढोकामा संगठनका माग र चेतावनी पत्र टाँस्दै तालाबन्दी गरेको थियो ।
शैक्षिक सत्रको शुरुवातमा राखेको बिभिन्न जायज मागलाई बेवास्ता गर्दै आएकोले तालाबन्दीमा उत्रिनु परेको संयोजक सापकोटाले जानकारी दिनुभयो । शुक्रवार हामीले ३ दिनको अल्टिमेटम दिएर ध्यानाकर्षण गराएर हाम्रा माग पुरा गर्न भनेका थियांै – उहाँले भन्नुभयो– तर हाम्रा जायज माग पुरा गर्न तर्फ ध्यान दिएको पाएनौ, अनि तालाबन्दीमा उत्रन बाध्य भयौं ।
संस्थागत बिद्यालयहरुले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा जनही ५ हजार भन्दा माथि शुल्क लिने गर्दा समेत नगरको शिक्षा शाखा मुकदर्शक भएर बसेकोले तालाबन्दी गरिएको उहाँले बताउनुभयो । महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै संगठनले शुक्रवार ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाएको पाँच दिन पछि संगठनले तालाबन्दी गरेको हो ।
सो क्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले नगरले शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस