२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

गुणस्तर योग्य नभएको पाईएपछि नेहा अक्वाको पानी बजारबाट फिर्ता

२०८० भाद्र १९, मंगलबार प्रकाशित ( साल अघि) ३०५ पाठक संख्या

नरायण भण्डारी/प्रकाश न्यौपाने
बर्दघाट, १९ भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तरहीन भएको समाचार आए पछि कम्पनीले बजारमा पठाएको पानी फिर्ता गरेको छ ।
नेहा अक्वाको पानीले स्वास्थ्यमा गम्भीर असर गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट बाहिरिएसँगै कम्पनीले बजारमा पठाएका पानी उठाएको हो । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले उक्त कम्पनीले उत्पादन गरेको पानी परीक्षण गर्दा पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको प्रतिवेदन दिएको थियो ।
पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भिर खेलवाड भएको बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले बताउनुभयो । स्वास्थकर्मीका अनुसार नेहा अक्वामा कोलिफर्म बढी देखीएको छ । जसको कारण हैजा, झाडा पखाला र बान्ता आउने समस्या बढी हुने गर्दछ ।
नेहा अक्वाको पानी परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पानी पिउनयोग्य नभएको देखिएको छ। पिउन योग्य नभएको पानी बजारमा पाइएपछि अहिले नेहा अक्वाको पानी बजारबाट उठाईएको हो ।
केही दिन अघि नगरपालिका, उपभोक्ता हित सरक्षण मञ्च र कम्पनीका प्रतिनिधि बसेर गुणस्तरहिन पानी बजारबाट उठाउने सहमती भए पनि कम्पनीले पानी उठाउनका लागि आनाकानी गर्दै आईरहेको थियो । नगरपालिकाले बजारबाट पानी नउठाईए थप कारबाही प्रकृया अगाडि बढाउने चेतावनी दिए पछि कम्पनी पानी फिर्ता लैजान बाध्य भएको हो ।
कम्पनीका संचालक सन्तोष कलवारले कम्पनीको यूबी लाइट फ्युज भएकोले पानीमा कोलिफर्म भेटिएको बताउनुभयो । उहाँ भन्नुभयो “हाम्रो कम्पनीमा २ वटा यूबी लाइट छ, विद्युतको भोल्टेज तल माथी हुदाँ फ्युज भएको रहेछ, हामीलाई पछि थाहा भयो।”
बजार बाट उठाईएको पानी अहिले बर्दघाट उद्योग बाणिज्य संघको सभाहलमा राखिएको छ । मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कोलिफर्म जीवाणु सहितको पानी बजारमा पठाएको कम्पनीले फिर्ता ल्याउने सहमति भएको अनुसार पानी संकलन गरिएको बर्दघाट नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्ययले बताउनुभयो । उहाँले भन्नुभयो–“नगरपालिकासँग भएको सहमति अनुसार नगर र कम्पनी मिलेर बजारबाट पानी उठाइएको हो,अब गुणस्तरहिन पानी नष्ट गर्छौ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस