२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सामाजिक सञ्जालका सबै विषय समाचार होइनन्: काउन्सिल अध्यक्ष बस्नेत

२०८० भाद्र १८, सोमबार प्रकाशित ( साल अघि) २८४ पाठक संख्या

 

काठमाडौ, १८ भदौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा आउने सबै विषय समाचार नहुने स्पष्ट पार्नु भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई उहाँले सुझाव दिनुभएको छ ।

व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।
‘कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन् । तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन् । सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ’ अध्यक्ष बस्नेतले सोमबार नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा भन्नुभयो ।
उहाँले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिनुभयो ।
अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरुमा केन्द्रित रही प्रस्तुति राखिएको थियो । डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालक/सम्पादकको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस