२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सञ्चार सेवा संघको चौँथो अधिवेशन सम्पन्न, ज्ञवालीको नेतृत्वमा नयाँ समिति गठन

२०८० भाद्र १, शुक्रबार प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

परासी, १ भदौ । सञ्चार सेवा संघ नवलपरासीको चौँथो अधिवेशन तथा साधारणसभा आज परासीमा सम्पन्न भएको छ । संघका अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को प्रमुख आतिथ्यमा भएको अधिवेशनले आगामी कार्यकालको लागि नयाँ समिति चयन गरेको छ ।
संघको अधिवेशनले गोपी ज्ञवालीकै अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा शोभा पन्त, सचिवमा ध्रुबनारायण बानिया, कोषाध्यक्षमा रामकरण हरिजन तथा सदस्यहरुमा पप्पु रेग्मी, रेनुका चौधरी, ज्ञानेश्वर सहानी, अभिषेक राव, गीता भट्टराई कोईराला रहनुभएको छ । समितिको संरक्षकमा संविधानसभा सदस्य विनोद पहाडी र सल्लाहकारमा बुद्धन अलि रहनुभएको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले एम्बुलेन्स सञ्चालन कार्य चुनौतीपूर्ण रहेपनि सञ्चार सेवा संघले हालसम्म एमबुलेन्स सेवा प्रदान गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि सक्दो सहयोग गर्ने पनि बताउनुभयो । अध्यक्ष गुप्ताले गाउँपालिकाको विकासमा आफू निरन्तर लागिपरेको बताउँदै जनताको स्वास्थ्यलाई मध्य नजर गर्र्दै पाल्हीनन्दन अस्पताल पालिकाकै पहलबाट सञ्चालन गर्दै आएको र थप व्यवस्थित गर्दै सेवा बढाउँदै जाने उल्लेख गर्नुभयो । उहाँले उजैनीदेखि पाल्हीमन्दिर,विष्णुपरा हुँदै भारतीय सीमासम्मको सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारसँग पहल गरि रु तीन करोड तीस लाख बजेट विनियोजन भएर आएको र यसै वर्षदेखि निर्माण शुरु हुने जानकारी दिनुभयो ।
सञ्चार सेवा संघका अध्यक्ष ज्ञवालीले संस्थाले हाल एम्बुलेन्स सञ्चालन गर्दै आएको र आगामी दिनमा थप सामाजिक कामहरु पनि गर्दै जाने योजना बनाएको बताउनुभयो । संविधानसभा सदस्य विनोद पहाडीको सहयोगमा तत्कालिन क्रान्तिकारी पत्रकार संघमार्फत एम्बुलेन्स सेवा शुरु गरिएकोमा पछिल्लो समय संस्थाको नाम रुपान्तरण गरि सञ्चार सेवा संघ बनाईएको उल्लेख गर्नुभयो । उहाँले एम्बुलेन्समार्फत पञकार र पत्रकारका परिवार तथा दुर्घटनाका घाईतेहरुको निःशुल्क सेवा समेत गरिएको बताउनुभयो । आगामी दिनमा अर्काे एम्बुलेन्स थप गर्ने प्रयास भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
साधारणसभा तथा अधिवेशनले लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै विधान पनि संशोधन गरेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । उक्त अवसरमा समाजसेवी बुद्धन अलि, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य मोहन पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारी,संघका सदस्य पप्पु रेग्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको संघका सचिव धु्रबनारायण बानियाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस