२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

गाउँ केन्द्रित रक्तदान कार्यक्रम गर्दै रेडक्रस बालपुरी उपशाखा, सरावलको बडहरामा गरे ३० जनाले रक्तदान

२०८० श्रावण २७, शनिबार प्रकाशित ( साल अघि) १४९६ पाठक संख्या

मोहन पौडेल
परासी,२७ साउन । रगतको अभाव हुन नदिन अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर पश्चिम नवलपरासीको सरावल गाउँपालिका –५ बडहरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बालपूरी उपशाखा सरावलले बडहरा दुवौलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्था बडहरा दुवौलियाको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग र रेडक्रस रामपुर खडौनाको समन्वयमा आज बृहत रक्तदान कार्यक्तम सम्पन्न गरेको हो ।
कार्यक्रममा एक महिलासहित ३० जनाले रक्तदान गरेको आयोजक नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाका सभापति सञ्जय मौर्यले जानकारी दिनुभयो । हुलाकी सडक भन्दा दक्षिणतर्फ ग्रामीण समुदायमा रक्तदानको महत्वबारे सचेतनाको कमी रहेकोले त्यस क्षेत्रका नागरिकलाई सचेत गराउँदै रक्तदानका लागि उत्प्रेरित गर्ने उद्देश्यले बडहरा गाउँमा रक्तदान कार्यक्रम गरिएको सभापति मौर्यले बताउनुभयो ।
रेडक्रस बालपुरी उपशाखाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिना अघि उपशाखा भवनमै रक्तदान कार्यक्रम गरेको बालपुरी उपशाखाले आगामी दिनमा पनि सरावलका विभिन्न क्षेत्रलाई समेट्दै नियमित रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने उपशाखा सभापति मौर्यले जानकारी दिनुभयो । गाउँ केन्द्रीत रक्तदान कार्यक्रम गर्ने घोषणा अनुसार कार्यान्वयन भईरहेको अध्यक्ष मौर्यले बताउनुभयो ।
उपशाखा सभापति मौर्यको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रक्तदान कार्यक्रमको माध्यमबाट रगत अभाव हुन नपाउने र रगत अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । अध्यक्ष चौधरीले ग्रामीण क्षेत्रमा रक्तदानको विषयमा अझैपनि भ्रम रहेको बताउँदै त्यसलाई चिर्न क्रमशः सचेतना कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले पालिकाबासीलाई रेडक्रस मार्फत निःशुल्क रगत उपलब्ध गराउने कार्य पनि गाउँपालिकाले निरन्तरता दिँदै आएको बताउनुभयो ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण प्रसाद चौधरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी,पूर्व वडा अध्यक्ष दिनेश सहानी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री,पत्रकार उमेश विक लगायतले रक्तदानको महत्वबारे चर्चा गर्नुभएको कार्यक्रम संयोजक बालपुरी उपशाखाका सदस्य जन्मोजय यादवले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस