२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

विभेद र अन्याय विरुद्ध आवाज उठाउन नवलपरासीमा संयुक्त दलित अधिकार संघर्ष समिति गठन

२०८० श्रावण २०, शनिबार प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

मोहन पौडेल
परासी, २० साउन । दलित अधिकार र जातीय विभेद विरुद्ध संयुक्त संघर्ष गर्न पश्चिम नवलपरासीका दलित अगुवा तथा अधिकारकर्मीहरु एक भएर अघि बढ्ने निर्णय गरेका छन् । जिल्लामा क्रियाशील विभिन्न पार्टीका दलित सम्बन्धी भातृसंगठनका अगुवाहरु र सामाजिक संस्था तथा दलित अधिकारकर्मीहरुको आज भूमहीमा सम्पन्न जिल्ला स्तरीय बृहत भेलाले दलित अधिकारको लागि एकतावद्ध रुपमा आवाज उठाउन संयुक्त संघर्ष समिति समेत गठन गरेको हो ।
भेलाले नेपाल दलित मुक्ति मोर्चा नवलपरासीका अध्यक्ष वीर बहादुर विश्वकर्माको संयोजकत्वमा संयुक्त दलित अधिकार संघर्ष समिति गठन गरेको हो । नवगठित ४१ सदस्यीय संघर्ष समितिको सदस्यमा मोहन विक, राजेन्द्र रसाईली,जीतेन्द्र हरिजन, काशीनाथ हरिजन,गोविन्द विक, कमल परियार,बसन्ती हरिजन, बाबुराम चमार,महात्तम हरिजन, ईन्द्र रोक्का,अर्जुन श्रीपाईली, हेमा हरिजन,शुशिला गोर्खाली लगायत सबै पार्टीबाट प्रतिनिधित्व रहने गरि सदस्य चुनिएको संघर्ष समितिका अध्यक्ष वीर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
यसैगरी कर्ण सुनार, अगवीर विक,नरबहादुर खाती, मोहन प्रसाद विश्वकर्मा,तारा सुनार लगायत रहेको १३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । संयुक्त संघर्ष समितिको नेतृत्वमा दलितका आर्थिक, राजनीतिक, सामाजिक मुद्दाहरुमा सबै राजनीतिक तथा सामाजिक संगठनले एक भएर अघिकारका लागि लड्ने छ । दलित माथीको विभेद तथा अन्यायमा एक भएर आवाज उठाउनुपर्ने आवश्यकता महशुस गरि संयुक्त संघर्ष समिति गठन गरिएको दलित अगुवाहरुले बताएका छन् ।
समितिका नवगठित अध्यक्ष विश्वकर्माले सबै दलितहरुको साझा पहलले नै दलित समस्याको सम्बोधन गर्ने बताउँदै सबैलाई एकताबद्ध गराएर अघि बढ्ने बताउनुभयो । उहाँले संयुक्त संघर्ष समितिमा आवद्ध हुन छुटेका संघ संस्था तथा अगुवाहरुलाई पनि समावेश हुन आह्वान गर्नुभयो ।
नेपाल दलित संघ नवलपरासीका अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको उक्त भेलामा मुक्ति समाजका जिल्ला अध्यक्ष राजेन्द्र रसाईली, केन्द्रीय सदस्य कर्ण सुनार, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष बीर बहादुर विश्वकर्मा,नेकपा एसका अर्जुन सुनार,राप्रपाका नगर उपाध्यक्ष जीतेन्द्र हरिजन,दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य अगबीर विक,गोबिन्द विक, प्रेम विक लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस