२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

शिक्षा र स्वास्थ्यको विकासमा देशकै अनुकरणीय बनेको ख्वप मोडेलबारे सुनवलमा अभिमुखीकरण

२०८० श्रावण १९, शुक्रबार प्रकाशित ( साल अघि) ४५७ पाठक संख्या

परासी, १९ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा भक्तपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य र सम्पदा संरक्षणमा अपनाएको ख्वप मोडलबारे अभिमुखीकरण गरिएको छ । संविधानले कल्पना गरेको समाजवादन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले अपनाएको विकास मोडल अनुकरणीय र देशकै नमूनाको रुपमा रहेको छ ।
सुनवल नगरपालिकाको आयोजनामा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल,शिक्षा र स्वास्थ्य क्षेत्रका सरोकारवालाको उपस्थितिमा ख्वप मोडेलको विषयमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक द्धय डा.बलराम दुवाल र फूलप्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
आधारभूत आवश्यकताको रुपमा रहेका शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सबल स्थानीय सरकारको नेतृत्वले संघीय सरकारले भन्दा प्रभावकारी काम गर्न सक्छ भन्ने उदाहरण भक्तपुरको ख्वप मोडेल बनेको छ । भक्तपुर नगरपालिकाले नमूनाको रुपमा बहुआयामिक गर्दै आएको उपप्राध्यापक डा.दुवालले बताउनुभयो । सरसफाइ र फोहोरमैला व्यवस्थापनको अनुपम उदाहरण, क्षतिग्रस्त सम्पादाहरुको पुनःनिर्माणका लागि विदेशी परियोजना बन्देज गरि स्थानीय नागरिकको सहभागितामा पुनःनिर्माण,स्वायत्त र विकेन्द्रीकरणको अधिकारको समुचित उपयोग, पारदर्शी र शुन्य भ्रष्टाचार,अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई निषेध भक्तपुरका अनुकरण गर्न लायक काम हुन् ।
भक्तपुर नगरपालिकाले अपनाएको यो मोडेलमा स्थानीय नागरिकको अपनत्व सबैभन्दा सुन्दर पक्ष रहेको उपप्राध्यापक दुवालले जानकारी दिनुभयो । भक्तपुर मात्र यस्तो नगरपालिका हो,जसले शिशुस्याहारदेखि बहुप्राविधिक अध्ययन संस्थान,ईन्जिनियरिङ्ग कलेज तथा स्नातकोत्तरसम्मका विद्यालयहरु आफ्नै व्यवस्थापनमा सञ्चालन गरेको छ । जहाँ स्थानीय मात्र नभई देशका विभिन्न जिल्लाका विद्यार्थीले सुलभ र गुणस्तरीय शिक्षा लिईरहेका छन् ।
भक्तपुरको ऐतिहासिक र सांस्कृतिक परिचयलाई जोगाउन उक्त नगरपालिकाले सम्पदा संरक्षणमा पनि उदाहरणीय कार्य गर्दै आएको दुवालले उल्लेख गर्नुभयो । नगरपालिकाले स्थानीय परम्परागत रैथाने ज्ञान र सीपलाई जीवितै राखेर सम्पदा कला संस्कृतिको संरक्षण गर्दै आएको छ। जनताको स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकताको विषय बनाएर अघि बढेको छ । घरदैलो नर्सिङ्ग सेवा, २५ शैय्याको ख्वप अस्पताललाई स्तरबृद्धि गरि सय बेडको बनाउन प्रक्रिया थालेको,व्यायाम पार्कको व्यवस्था,घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणको सुविधा लगायतका अनुकरणीय कार्य पनि यो नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले आफ्नै विश्व विद्यालय सञ्चालनका लागि पनि लामो समयदेखि पहल गर्दै आएको डा.दुवालले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले कुनै पनि योजना ठेक्काबाट नभइ उपभोक्ता समिति मार्फत जनताको सक्रिय सहभागितामा गर्ने गर्दछ।
कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले भक्तपुर नगरपालिकाले अपनाएको विकास मोडेलले उर्जा प्राप्त गरेको बताउनुभयो । उक्त नगरपालिकाको विकास मोडेल प्रशंसनीय रहेको बताउँदै मेयर अर्यालले सुनवलले पनि समृद्ध सुनवल, सुखी सुनवलवासीको सपना साकार पार्न अघि बढीरहेको बताउनुभयो । उपमेयर सूर्यप्रसाद दुवेले भक्तपुर नगरपालिकाको विकास मोडेल अत्यन्त प्रभावकारी रहेको बताउँदै यसबाट सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । उक्त अवसरमा सुनवल नगरपालिकालाई भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले उपहार स्वरुप पठाउनुभएका प्रकाशनहरु हस्तान्तरण गरिएको थियो ।

Kh

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस