२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आँखा पाक्ने रोग फैलिएपछि रोकथामको पूर्व तयारीमा जुट्यो रामग्राम नगरपालिका

२०८० श्रावण १७, बुधबार प्रकाशित ( साल अघि) ८९५ पाठक संख्या

मोहन पौडेल
परासी, १७ साउन । पश्चिम नवलपरासीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । आँखा पाक्ने रोगको प्रकोप फैलिन थालेपछि स्थानीय पालिकाहरुले नियन्त्रणको पूर्व तयारी थालेका छन् भने सतर्कता अपनाउन पनि आह्वान गरेका छन् ।
रामग्राम नगरपालिकाको वडा नं.१६,६ लगायतका वडामा आँखा पाक्ने रोगका बिरामी फेला परेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । अहिले तराईका अधिकांश जिल्लामा आँखा पाक्ने रोग महामारीको रुपमा फैलिरहेको र रामग्राम नगरपालिकामा पनि यसका बिरामी देखिन थालेकाले नियन्त्रणको पूर्वतयारीमा जुटेको नगर प्रमुख यादवले बताउनुभयो ।
आजै नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक बसी आँखा पाक्ने रोग नियन्त्रणका लागि आवश्यक पर्ने औषधी खरिद गरी सबै स्वास्थ्य संस्थामा पठाउने निर्णय गरेको छ । समितिको निर्णय अनुसार प्रकोप व्यवस्थापन कोषबाट रु एक लाख बराबरको औषधी खरिद गरी स्वास्थ्य संस्थामा तत्काल उपलब्ध गराईने रामग्राम नगरपालिकाका स्वस्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
आँखा पाक्ने रोगको नियन्त्रण तथा रोकथामका लागि सञ्चारमाध्यमबाट व्यापक रुपमा सचेतना फैलाउने निर्णय समेत गरिएको छ । संक्रमण थप फैलन नदिन आवश्यक सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आह्वान पनि गरेको छ । आँखा पाक्ने रोगको संक्रमण फैलिन नदिन नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले पनि स्वयमसेवक परिचालन गरी सचेतना फैलाने तयारी गरेको रेडक्रसका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिनुभयो ।
विशेषगरी बालबालिकाहरुमा आँखा पाक्ने रोग फैलिएको डा.विनोद निता कण्डेल आँखा अस्पतालका व्यवस्थापक तुलसी प्रसाद पराजुलीले बताउनुभयो । आँखा चिलाउने, रातो हुने,पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको उहाँले बताउनुभयो । आँखा पाक्ने रोग व्यापक फैलिन थालेपछि अस्पतालमा आँखाका बिरामी पनि बढेको पराजुलीले जानकारी दिनुभयो ।
दैनिक डेढ सयको हाराहारीमा आँखाका बिरामी आउने गरेकोमा अहिले दैनिक ढाई सय बिरामी आँखाको समस्या लिएर आउने गरेको अस्पताल व्यवस्थापक पराजुलीले बताउनुभयो । धेरै जमघट हुने स्थानमा यो रोग फैलिएकोले आवश्यक सचेतना जगाउन आवश्यक रहेको अस्पतालका नेत्र विशेषज्ञ नेत्र बहादुर मगरले बताउनुभयो ।
संक्रमणबाट बच्न र थप फैलिन नदिन आफ्नो हातले आँखा नछुने,हात बारम्बार साबुन पानीले धुने,दैनिक सफा र आफूले मात्रै तैलिया प्रयोग गर्ने,अरुले प्रयोग गरेको कपडा प्रयोग नगर्ने, अन्य संक्रमितले प्रयोग गरेको औषधी प्रयोग नगर्ने लगायतका सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । आँखा पोल्ने, चिलाउने जस्ता समस्या देखिए तत्काल आँखा अस्पतालमा सम्पर्क गर्न उहाँले जोड दिनुभयो । यो रोग आँखामा हेराहेर गर्दैमा भने नसर्ने चिकित्सकको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस