२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कोमामा पुगेको रेडक्रसलाई जनरल बेडमा ल्याएका छौँ,अब गति र छवि सुधारमा लाग्छौँ : केन्द्रीय अध्यक्ष नेपाल

२०८० श्रावण १४, आईतबार प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । नेपाल रेडक्रस सोसाईटीका नवनिर्वाचित केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले कोमामा पुगेको रेडक्रस जनरल बेडमा आईपुगेको बताउनुभएको छ । करिब कोल्याप्सको अवस्थामा पुगेको रेडक्रसलाई बचाउँदै अन्र्तराष्ट्रिय स्तरमै छवि उचो बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वगत तथा बधाई कार्यत्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष नेपालले विगत केही वर्षदेखि धमेलिएको रेडक्रसको छविलाई सुधार गर्ने चुनौती रहेपनि आफूले त्यसलाई अवसरको रुपमा लिएर अघि बढेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सबैको आस्थाको केन्द्र नेपाल रेडक्रसलाई जोगाउन अदालतदेखि जेनेभासम्म धाएर निकै संघर्ष गर्नुपर्याे,रेडक्रस कोमामा थियो, आईसियूमा गयो,अहिले जनरल बेडसम्म ल्याएका छौँ,अब यसलाई थप उपचार र सुरक्षा गर्नुपर्ने जिम्मेवारी हामीमा छ,हामीले सुधार गर्ने आँट लिएका छौँ, हामीलाई काम गर्ने बल चाहिएको छ”
केन्द्रीय अध्यक्ष नेपालले आफ्नो पहिलो प्राथमिकता रेडक्रसको वैद्यानिकता कायम गराउनु रहेको बताउनुभयो । “रेडक्रस नवीकरण नभएको यो पाँचौ वर्ष हो,नवीकरणका लागि यो अन्तिम वर्ष हो, अन्तराष्ट्रिय रेडक्रसले तत्काल नवीकरणको प्रक्रिया अघि नबढाए नेपाल रेडक्रसलाई कोल्याप्स गर्ने चेतावनी दिईसकेको छ, तसर्थ पनि हामी असोज मसान्त भित्रै नवीकरण गर्ने गरी लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।
नवीकरणका लागि रेडक्रसले केन्द्रीय समितिको निर्वाचन, केन्द्रीय साधारणसभा, लेखापरीक्षण गर्नुपर्ने थियो । जसमध्ये गत साउन २ गते मात्र केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अब आगामी भदौ २ गते भित्र लेखापरीक्षण सम्पन्न गरी भदौ ८ र ९ गते साधारणसभा बोलाएर आगामी बजेट र कार्यक्रम तय गरिने अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
नवीकरण भएपछि विधान अधिवेशन गरी वर्तमान विधानलाई संशोधन गर्दै रेडक्रसको गतिलाई अघि बढाउने योजनाका साथ अहिलेको कार्यसमिति लागिरहेको पनि उहाँले बताउनुभयो । केन्द्रीय अध्यक्ष नेपालले रेडक्रस ऐन ल्याउन सरकारसँग माग गर्नुभयो । रेडक्रसमा देखिएको समस्या समाधान गर्न पनि रेडक्रस ऐन अत्यावश्यक रहेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले रेडक्रसको अन्र्तराष्ट्रिय मूल्य मान्यता अनुसार अघि बढ्ने बताउँदै रेडक्रसमा राजनीति गर्न नहुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरीले केन्द्रमा देखिएको समस्याका कारण स्थानीय शाखाहरुसम्म प्रभावित भएको बताउँदै अब भने रेडक्रसले गति लिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले नवलपरासी शाखा आयको हिसावले कमजोर शाखा भएकोले केन्द्रीय रेडक्रसबाट यस जिल्लामा विभिन्न परियोजना सञ्चालनको लागि सहयोग हुने आशा राखेको बताउनुभयो ।
उहाँले जिल्ला शाखाले स्थानीय तहहरुसँग सहकार्य गरी नेपालमै पहिलो पटक निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुरुवात गरेको बताउँदै स्थानीय तहहरुकै सहयोगमा रेडक्रसका पूर्वाधार निर्माण तथा एम्बुलेन्स सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।नवनिर्वाचित केन्द्रीय समितिलाई चुनौती र अवसर दुवै रहेको बताउँदै उहाँले नवीकरण, कर चुक्ता लगायतका समस्या समाधान गर्दै रेडक्रसको प्रतिष्ठा बढाउने काम गर्न जोड दिँदै जिल्ला शाखाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका नवनिर्वाचित केन्द्रीय सदस्य अनुप श्रेष्ठ, लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, नवलपरासी शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने लगायतले रेडक्रस जोगिएकोमा खुशी व्यक्त गर्दै अब रेडक्रसको गतिलाई अगाडि बढाउन आग्रह गर्नुभएको रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य रुद्र कुमारी कँडेलले जानकारी दिनुभयो ।

R2 R3 R4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस