२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

समुदायस्तरमा उपभोक्ता सचेत गराउँदै घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी

२०८० अषाढ २७, बुधबार प्रकाशित ( साल अघि) ४६५ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असार । आम उपभोक्तालाई सचेत बनाउन घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले उपभोक्ता सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन समुदायस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।
संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उपभोक्ताको अधिकारबारे जानकारी गराउँदै वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवारस्थलमा सूचनापाटी मूल्यसूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिन प्रेरित गर्दै उपभोक्ता शिक्षा कार्यक्रमलाई निरन्तरता दिईएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
धेरै उपभोक्तालाई आफ्नो अधिकारको विषयमा ज्ञान नहुने र ज्ञान भएका उपभोक्ताले पनि वस्तु खरीद गर्दा सचेत नहुने गरेकोले उपभोक्ता शिक्षा अति आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली बताउनुहुन्छ । कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजूरी गर्न सक्ने प्रावधान पनि छ । उपभोक्ता सचेत हुँदा उत्पादक र बिक्रेता पनि जिम्मेवार बन्दै जाने उहाँले बताउनुभभयो ।
यस कार्यक्रमबाट उपभोक्तामा जागरण आउने विश्वास गरिएको छ । कार्यालयले पछिल्लो पटक जनता मावि रामग्राम–१५ शुक्रौली, जनता मावि रामग्राम–१० लक्ष्मिपुर, हिलेरियस चिल्डे«न एकेडेमी रामग्राम–४ बैरिहवासहित सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउँपालिकामा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा सहभागिहरुले आफूहरुले पाएको शिक्षालाई व्यवहारमै कार्यान्वयन गरेर सचेत उपभोक्ताको रुपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको समन्वयमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस