२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासीमा बन्यो आकर्षक बसपार्क,महिनौं बित्दा पनि आएन सञ्चालनमा

२०८० अषाढ २१, बिहिबार प्रकाशित ( साल अघि) २१९४ पाठक संख्या

मोहन पौडेल
परासी, २१ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा व्यवस्थित बसपार्क निर्माण भएको छ । परासी क्षेत्रमा व्यवस्थितरूपमा यातायात व्यवस्थापनका लागि बनाईएको बसपार्क पाँच महिना अघि नै निर्माण सम्पन्न भएको हो ।
शहरी विकास मन्त्रालयको करोडौं लगानीमा रामग्राम–४ केरवानीमा निर्माण भएको ‘रामग्राम बसपार्क’ निर्माण सम्पन्न भएको महिनै बित्दा पनि सञ्चालनमा ल्याउन पहल नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
सदरमुकाम परासीमा बसपार्क निर्माण भइसक्दा पनि सडकमै अव्यवस्थितरूपमा सवारी साधन पार्किङ हुँदै आएको छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कको रूपमा प्रयोग हुँदा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको समेत जोखिम छ ।
बुद्धचोक–निलोगेटसम्मको सडक विस्तारको क्रममा अस्थायीरूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको जग्गामा बसपार्क सञ्चालन गरिएकोमा हाल उक्त स्थानमा जिल्ला समन्वय समितिले भवन निर्माण गरिरहेको र बनिसकेको बसपार्क सञ्चालन नहुँदा पार्किङको समस्या भोग्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।
। बनिसकेको बसपार्क सञ्चालनमा ल्याउन रामग्राम नगरपालिकासँग अनुरोध गरिए पनि चासो नदिईएको व्यवसायीको गुनासो छ । अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने गरी रु २७ करोडको गुरुयोजना बनाई पहिलो चरणमा केही पूर्वाधार सहितको बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
गुरुयोजनाअनुसारको संरचना निर्माण गर्न समय लाग्ने भएकाले पहिलो चरणमा आधारभूत तहका पूर्वाधार सहितको बसपार्क निर्माण भएको नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो ।
संघीय सरकारले पहिलो चरणको लागि रु चार करोड ७० लाखको लागतमा बसपार्कमा आधारभूत पूर्वाधार निर्माणका लागि समिर कन्ट्रक्शनलाई निर्माणको जिम्मेवारी दिएकोमा तीन करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको छ । संघीय सरकारको लगानीमा बनेपनि बसपार्कको व्यवस्थापन र सञ्चालन नगरपालिकाको जिम्मेवारी हो । बसपार्क निर्माण सम्पन्न भएपछि निकै आकर्षक र सुन्दर देखिएको छ । करोडौं लगानीको बसपार्क छिटो सञ्चालनमा ल्याउन नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले आग्रह गर्नुभयो ।
बसपार्क परिसरमा शौचालय, टिकट काउण्टर, सुरक्षाकक्ष, फुटपाथ, बसपथलगायतका पूर्वाधार निर्माण भएका छन् । सदरमुकाममा लामो प्रतिक्षापछि बसपार्क निर्माण भएर पनि सञ्चालनमा नआउनु विडम्बना भएको सैथवारको भनाइ छ । तत्कालका लागि यात्रु बस्ने सेडको कमि देखिएको उहाँले बताउनुभयो ।
परासी बजारबाट करिब ८०० मिटर पश्चिम केरवानी गाउँको करिब साढे दुई बिघा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो । उक्त बसपार्क सञ्चालनका लागि स्तरीय सडक सुविधाको अभाव देखिएको सरोकारवालाले बताएका छन् ।
नगरपालिकाका ईन्जिनियर गुप्ताले बसपार्क सञ्चालनको स्पष्ट कार्यविधि नभएकोले सञ्चालनमा ल्याउन ढिलाइ भएको बताउनुभयो । कुन मोडलबाट बसपार्क सञ्चालनमा ल्याउने भन्ने एकिन नहुँदा बसपार्क अलपत्र बनेको छ ।

20230705_192028 20230705_191704 20230705_191154 20230705_190933

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%५%१%३%४%

प्रतिक्रिया दिनुहोस