२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ६ महिनामा मानवअधिकार उल्लंघनका ७८ घटना

२०८० अषाढ १९, मंगलबार प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

मोहन पौडेल
परासी, १९ असार । पश्चिम नवलपरासीमा गएको ६ महिनामा मानवअधिकार उल्लंघनका ७८ वटा घटना भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले सार्वजनिक गरेको मानवअधिकार हननका घटनाको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि जुन महिनामा जिल्लामा ७८ वटा मानवअधिकार उल्लंघनका घटना भएका हुन् ।
ईन्सेकले सोमबार अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम गरी ती घटनाको विवरण सार्वजनिक गरेको हो । ईन्सकेका अनुसार आठ जना बालिकामाथि बलात्कार तथा बलात्कारको प्रयास भएको छ भने एक जनालाई अपहरण तथा शरीर बन्धकको प्रयास गरिएको छ ।
१२ जना महिला माथि बलात्कार तथा बलात्कारको प्रयास भएको छ भने एक बैवाहिक बलात्कारको घटना भएको ईन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले जानकारी दिनुभयो । यस अवधिमा परिवारबाट दुई जना र अज्ञात समूहबाट एक जना गरी तीन जना महिलाको हत्या भएको छ । घरेलु हिंसाका ४८ वटा घटना भएका छन् भने बहुविवाहका तीन घटना भएको उहाँले बताउनुभयो । यसैगरी जातिय विभेदका तीन घटना भएको ईन्सेकको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा सहभागिहरुले जिल्लामा मानवअधिकार उल्लंघनको घटनामा कमी आउन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले गम्भीर प्रकृतिका जघन्य अपराध बढ्दै जानु दुःखद् भएको बताउनुभयो । उहाँले यस किसिमका घटना न्यूनीकरणका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । सभ्य समाज निर्माणमा सबै पक्षको भूमिका भएकोले सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले राज्यले अपराधीलाई कानूनी दायरामा ल्याईरहँदा पनि जघन्य अपराधका घटना बढ्नु सबैको लागि चिन्ताको विषय भएको बताउनुभयो । उहाँले जघन्य अपराधका घटना न्यूनीकरणका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीप्रसाद आचार्य,नेपाली कांग्रैेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादव,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,नवलपरासी जिल्ला अदालतका श्रेष्तेदार प्रेमप्रसाद पौडेल,दैनिक24 खबरका सम्पादक मोहन पौडेल लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस