२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

एक वन एक उद्यमको नीति कार्यान्वयनमा अघि बढ्न सुनवल नगर प्रमुख अर्यालको आग्रह

२०८० अषाढ १५, शुक्रबार प्रकाशित ( साल अघि) ७४१ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । वन मार्फत आयआर्जन र गरीबी निवारणमा टेवा पुग्ने गरी एक वन एक उद्यमको नीतिलाई कार्यान्वयन गर्न पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले स्थानीय सामुदायिक वन समूहरुलाई निर्देशन दिनुभएको छ । नगरपालिकाले एक वन एक उद्यम र एक वन एक बाटिकाको नीति पारित गरेको बताउँदै नगर प्रमुख अर्यालले नगरमा रहेका सबै सामुदायिक वनका पदाधिकारीहरुलाई उक्त नीति अनुसार अघि बढ्न निर्देशन दिनुभयो ।
सुनवल नगरपालिकाको आयोजनामा आज आयोजित समुदायमा आधारित वन व्यवस्थापन समूहहरुलाई सुशासन, लैंगिक तथा सामाजिक समावेशीकरण विषयक क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले समृद्ध सुनवलको एक महत्वपूर्ण आधार वन भएकोले सबै सामुदायिक वनहरुले कम्तीमा एउटा आआफ्ने वनको ब्राण्ड दिनुपर्ने बताउनुभयो ।
बिशासय सामुदायिक वनको ब्राण्ड बेलजुस भएजस्तै अन्य सामुदायिक वनहरुले पनि उद्यमलाई ब्राण्ड बनाउन सके समृद्ध सुनवल, सुखी सुनवलवासीको सपना साकार हुने उहाँको भनाई थियो । नगर प्रमुख अर्यालले सामुदायिक वन समूह र महासंघ एवं स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताउँदै सबै वन समूहलाई विधि प्रक्रियामा चल्न र पारदर्शी हुन जोड दिनुभयो ।
सुनवल नगरपालिकाका वन,वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिमलाल शर्मा(दीलिप) चापागाईले स्थानीय सरकारले नगरका सामुदायिक वनलाई सुशासन र आयआर्जनमा जोड्न सहकार्य गरेको बताउनुभयो । नगरपालिकाले सामुदायिक वन समूहसँग समन्वय गरेर सामुदायिक वनमा उद्यम र आयमूलक कार्यक्रम सञ्चालन गर्ने,पर्यापर्यटनलाई जोड दिने, उद्यान व्यवस्थापन गर्ने उद्देश्य लिएको समिति संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष चापागाईले जानकारी दिनुभयो। उहाँले सामुदायिक वनले कानूनले निर्दिष्ट गरेको प्रावधानलाई अंगिकार गर्दै विधि र प्रक्रियामा चल्ने र सुशासन, पारदर्शी एवं लैंगिक समावेशीतायुक्त हुनुपर्ने उहाँले जोड दिनुभयो ।
डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेले सामुायिक वनहरु पारदर्शी र समावेशीकरणको नीति अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन ऐन र आर्थिक कार्यविधि अनुसार प्रत्येक वर्ष लेखापरीक्षण गर्ने, समितिमा महिला सहभातिालाई पचास प्रतिशत अनिवार्य गर्ने, जातिय, क्षेत्रीय र वर्गिय अधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, आम्दानीबाट वन विकाससँगै गरीबी निवारण, आयआर्जन र उद्यममा जोडिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुनवलका २२ वटा सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन नवलपुरका अध्यक्ष ठाकुर पाण्डे र सव डिभिजन वन कार्यालय सुनवलका वन अधिकृत मनोज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस