२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामको बजेट एक अर्ब १७ करोड १८ लाख, नीति तथा कार्यक्रम : एक मेघावाट विजुली उत्पादन गर्ने

२०८० अषाढ ९, शनिबार प्रकाशित ( साल अघि) ९०१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अरब १७ करोड १८ लाख ८८ हजारको कूल बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न बाह्रौँ नगरसभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त बजेट पारित गरेको हो ।
कूल बजेटको ६४ प्रतिशत पूँजीगततर्फ र ३६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पूँजीगत तर्फ ७३ करोड ८३ लाख २६ हजार रुपैँया तथा चालु तर्फ ४३ करोड ३५ लाख ६२ हजार विनियोजन गरिएको हो ।
नगरपालिकाले संघीय सरकारबाट ६७ करोड ५९ लाखम रुपैँया, लुम्बिनी प्रदेशबाट तीन करोड ६२ लाख रुपैँया अनुदान प्राप्त हुने अनुमान गरेको छ भने नगरपालिकाको आन्तरिक राजस्व र चालु आवबाट बचत हुन सक्ने रकम रु ४५ करोड १७ लाख तथा सडक बोर्ड साझेदारी योजना समेत गरी कूल एक अरब सत्र करोड १८ लाख ८८ हजार आय हुने अनुमान गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख यादवले नगरपालिका आफैले सोलार मार्फत एक मेघावटको विजुली उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्ने योजना अघि सार्नुभएको छ । नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्न रामग्राम–१५ घिनाहास्थित सार्वजनिक जग्गामा सोलार प्लाण्टमार्फत विजुली उत्पादन गर्ने योजना ल्याईएको उहाँले बताउनुभयो । यसबाट वार्षिक एक करोड रुपैँया आम्दानी हुने नगरपालिकाको अनुमान छ । यसको निर्माणका लागि कूल रु आठ करोड लाग्ने बताउँदै नगर प्रमुख यादवले नगरपालिकाको पचास प्रतिशत र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको पचास प्रतिशत लागतमा प्लाण्ट निर्माण हुने बताउनुभयो ।
यसैगरी सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरलाई सुधार गर्न यस वर्षदेखि चार वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा अघि बढाउने योजना अघि सारिएको छ भने विद्यार्थीको दैनिक उपस्थिति बढाउन गत वर्षदेखि शुरु गरिएको हाजिरीको आधारमा दैनिक रु दश रुपैँया दिने कार्यक्रमलाई पनि निरन्तरता दिईएको नगर प्रमुख यादवले बताउनुभयो ।
नगरसभाले रामग्राम विकास कोष ऐन पनि पारित गरेको छ । रामग्राम स्तुपको विकासमा लुम्बिनी विकास कोषले ध्यान नदिएकोले नगरपालिका आफैले विकासमा पहल लिन छुट्टै रामग्राम विकास ऐन निर्माण गरेको नगर प्रमुख यादवले बताउनुभयो ।

2

रामग्राम नगरपालिकाले महिलाहरुलाई व्यवसायिक र उद्यमशील बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख सम्झना चौधरीले बताउनुभयो । आधारभूत तालिमसँगै उनीहरुलाई व्यवसायिक रुपमै अघि बढाउन एडभान्स तालिमहरु सञ्चालन गरी उद्यमशील बनाउन प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको चौधरीको भनाई थियो ।

3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस