२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

संकुचित अर्थतन्त्र उकास्न सरकारले पहल गरेन – चेम्बर अध्यक्ष मल्ल

२०८० अषाढ २, शनिबार प्रकाशित ( साल अघि) ५९७ पाठक संख्या

मोहन पौडेल
परासी, २ असार । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधार गर्न सरकारले ध्यान नदिएको बताउनुभएको छ। उहाँले चर्को व्याजदरका कारण व्यापारी मर्कामा परेको बताउनुभयो ।
नवलपरासी चेम्बर अफ कमर्शको प्रथम साधारणसभा तथा अधिवेशनलाई आज बर्दघाटमा सम्बोधन गर्दै चेम्बर अध्यक्ष मल्लले निजी क्षेत्रका समस्या समाधानमा सरकारले चासो नदिएको तर्क गर्नुभयो । सरकारले ल्याएको नीति तथा बजेट निजी क्षेत्रमैत्री नभएको समेत उहाँले बताउनुभयो ।
चेम्बर अध्यक्ष मल्लले संकुचित अर्थतन्त्र उकास्न चेम्बर अफ कमर्श तथा नेपाल उद्योग वाणिज्य महासंघले अब मिलेर अब संयुक्त आवाज उठाउने उल्लेख गर्नुभयो । अर्थतन्त्र सुधारका लागि पटकपटक सरकारलाई ध्यानाकर्षण तथा सुझाव दिईएको तर सरकारले कार्यान्वयन नगरेको उहाँको भनाइ थियोे । चर्को व्याजदर सन्तुलन गर्न सरकारको ध्यानाकर्षण गराउने काम भईरहेको बताउँदै अध्यक्ष मल्लले सरकारका मन्त्रीले प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने गरेको बताउनुभयो । व्याजदर नियन्त्रणमा राष्ट्र बैंकले समेत सहयोग नगरेको उहाँको भनाइ थियो ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि बढ्दो ब्याजदरका कारण अर्थतन्त्रनै धराशयी हुने अवस्था सृजना भएको अध्यक्ष मल्ललको भनाई छ । बैंकहरुले पहुँच भएकालाई सस्तो व्याजदर र पहुँच नभएका नागरिकलाई चर्को व्याजदरमा लगानी गर्ने गरेको उहाँले बताउनुभयो । अध्यक्ष मल्लले स्थानीयस्तरमा रोजगारी अभिवृद्धि हुने कार्यक्रम एवं गतिविधि सञ्चालन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नवलपरासी सम्भावना बोकेको र ओैद्योगिक वातावरण भएको जिल्ला भएकोले यहाँ उद्योग कलकारखाना भित्र्याउन विशेष अभियान चलाउन पनि अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले व्यापारीले भोग्नुपरेको चर्को व्याजदर लगायतका समस्या समाधान गर्न समन्वकारी भूमिका खेल्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाली व्यापारीको मुख्य समस्या खुला सीमा भएकोले सबै मिलेर सीमामा कडाइको लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमले हाल प्रताडित व्यापारीले राहत महशुस गर्न नसकेको बताउनुभयो ।

नवलपरासी चेम्बर अफ कमर्शका अध्यक्ष चन्द्र ज्योति बस्यालले अहिलेको विषम परिस्थितिमा तीनै तहका सरकारले कर छुट गर्नुपर्ने बताउनुभयो । उहाँले तरकारी,फलफूल लगायत कृषि उत्पादन तथा खाद्यान्नमा लगाईएको मूल्य अभिवृद्धि करको व्यवस्था खारेज गर्नुपर्ने, भन्सारबाट आयतित वस्तुको मूल्य वैज्ञानिक विधिबाट तोक्नु पर्ने तथा आर्थिक मन्दिमा परेका उद्योगी व्यवसायीको समस्यालाई मध्य नजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट उठाउने गरिएको चर्को व्याजदर घटाउन सरकारसँग माग गर्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरेले वर्तमान सरकारका कारण उद्योगी व्यवसायी प्रताडिनु परेको जिकिर गर्नुभयो ।
बर्दघाट नगरपालिकाका संस्थापक मेयर धीरज शर्मा बस्यालले कोरोना पछिको शिथिल अर्थतन्त्रको कारण व्यवसायी समस्या भोगिरहेकोले सरकारले यसतर्फ ध्यान दिएर विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले नवलपरासी जिल्लामा ओैद्योगिक वातावरण रहेकोले यश क्षेत्रमै उद्योग कलकारखाना स्थापना गर्न र उत्पादन क्षेत्रमा लगानी गर्न जोड दिनुभयो ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने सबै व्यवसायी एकजुट भए मात्र व्यवसायीका समस्या समाधान हुनेमा जोड दिनुभयो । आर्थिक मन्दी र चर्को व्याजदरको कारणले उद्योग व्यवसाय धरासायी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने,नवलपरासी चेम्बर अफ कमर्शका महासचिव दीपक पाण्डे,सदस्य प्रेम न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको नवलपरासी चेम्बर अफ कमर्शका कोषाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस