२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दनको भक्सिपुरमा शनिदेवको मन्दिर निर्माण हुँदै,सांसद प्रधान र पालिका अध्यक्ष गुप्ताद्धारा शिलान्यास

२०८० जेष्ठ ३१, बुधबार प्रकाशित ( साल अघि) ७३१ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ स्थित भक्सिपुरमा शनिदेवको मन्दिर निर्माण कार्य शुरु भएको छ । लामो समयको प्रयासपछि निर्माण हुन लागेको मन्दिरको आज शिलान्यास गरिएको हो ।
नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री धु्रबबहादुर प्रधान र पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले आज संयुक्त रुपमा मन्दिरको शिलान्यास गर्नुभएको हो । पूर्वमन्त्री प्रधानले धर्म, संस्कृति र सभ्यताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेता प्रधानले शनिदेवता खुशी हुँदा धनधान्यले भरिपूर्ण र सुख, शान्ति प्राप्त हुने भन्दै मन्दिर निर्माण कार्य छिटो सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले धर्मले सबैलाई जोड्ने भन्दै हिन्दुराष्ट्रि स्थापनाका लागि निरन्तर लडिरहेको बताउनुभयो । धर्म र संस्कृतिले नेपाल र भारतलाई जोडिरहेको बताउँदै यसलाई निरन्तर कायम राख्नुपर्नेमा प्रधानको जोड थियो ।
गाउँपालिका अध्यक्ष गुप्ताले लामो समयदेखि यस स्थानमा मन्दिर निर्माणको लागि पहल भएपनि काम हुन नसकेकोले गाउँपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेर मन्दिर निर्माण कार्य अघि बढाएको जानकारी दिनुभयो । रकम अपुग भएमा गाउँपालिकाले थप गर्ने बताउँदै आगामी कात्तिकसम्ममा मन्दिर निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
अध्यक्ष गुप्ताले समयमै र गुणस्तरीय निर्माण कार्य गर्न आग्रह पनि गर्नुभयो । वडा नं. २ का वडा अध्यक्ष जगदीश गुप्ताले यस स्थानमा छ वर्ष अघि नै शनिदेवताको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा गरिएको र यसअघि निर्वाचित सांसदहरुबाट मन्दिर निर्माणको लागि आश्वासन प्राप्त भएपनि काम हुन नसकेको भन्दै गाउँपालिकाको पहलमा मन्दिर निर्माणले गति लिएको जानकारी दिनुभयो । अतित निर्माण सेवाले मन्दिर निर्माणको कामको जिम्मेवारी पाएको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस