२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मनसुन पूर्व तयारी शुरु

२०८० जेष्ठ १६, मंगलबार प्रकाशित ( साल अघि) ४०३ पाठक संख्या

मोहन पौडेल
परासी, १६ जेठ । पश्चिम नवलपरासीमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । हाल चलिरहेको प्रि मनसुन र छिट्टै शुरु हुने मनसुनबाट पश्चिम नवलपरासीमा हुन सक्ने सम्भावित विपदका घटना न्यूनीकरण गर्न विषयगत कार्यालयहरुबाट गरिनुपर्ने कार्यसहितको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ लाई अद्यवाधिक गरी परिमार्जन गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको आज परासीमा बसेको बैठकले उक्त योजना अनुमोदन गरेको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको विशेष आतिथ्य र जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, सरोकारवाला संघ संस्था, नागरिक समाज लगायतको उपस्थितिमा बसेको उक्त बैठकले स्थानीय तहमा सञ्चालनमा रहेका विपद आपतकालिन कार्य सञ्चालन केन्द्रलाई थप सृदृढ बनाई विपदको समयमा सक्रिय तथा प्रभावकारी बनाउँदै विपदका घटनाका सूचना आदानप्रदान, समन्वय तथा उद्धारका कार्यमा समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले विपदको समयमा आउन सक्ने बाढी, पहिरो, डुबान लगायतका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि आआफ्नो स्थानबाट राहत,उद्धार तथा अन्य सहयोग गर्न नागरिक समाज तथा सम्पूर्ण सरोकारवालासँग आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा हुनुपर्ने न्यूनतम रु २५ लाख मध्ये हाल जिल्लामा रहेको कोषमा १३ लाख ३० हजार रुपैँया मात्र भएकोले आगमी मनसुनमा हुन सक्ने सम्भावित क्षतिलाई आंकलन गर्दै कोषका लािग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग रु २५ लाख माग गर्ने निर्णय गरिएको छ।
बैठकले नारायणी नदी किनारमा जडित साईरनको अवस्था यकिन गरी साईरन व्यवस्थापन गर्न सुस्ता गाउँपालिकालाई जिम्मेवारी दिईएको छ । बाढीका समयमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सचेतना जगाउन स्थानीय सञ्चारमाध्यमलाई पनि आह्वान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस