२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवलमा जिल्लाकै पहिलो महिला विद्यालय सञ्चालन, पढ्ने धोको पूरा भएको भन्दै आमाहरु खुशी

२०८० जेष्ठ १५, सोमबार प्रकाशित ( साल अघि) १०३४ पाठक संख्या

मोहन पौडेल
परासी, १५ जेठ । बाल्य अवस्थामा औपचारिक शिक्षा पूरा गर्न नपाएको तथा विविध कारणले शिक्षाबाट वञ्चित रहेका महिलाहरुलाई लक्षित गरी पश्चिम नवलपरासीको सुनवलमा समता महिला विद्यालय सञ्चालनमा ल्याइएको छ । सुनवल नगरपालिकाले विशेषगरी आमा उमेरका महिलाहरुको पढ्ने धोको पूरा गर्न जिल्लामै पहिलो पटक सुनवल स्थित लुम्बिनी माविमा महिला विद्यालय सञ्चालनमा ल्याएको हो ।
विद्यालय जाने उमेरमा विविध कारणले शिक्षा पूरा गर्न नसकेका महिलाहरुलाई शिक्षित बनाउने उद्देश्य र शिक्षालाई उमेरले छेक्दैन् भन्ने भावनालाई आत्मसाथ गर्दै महिला विद्यालय स्थापना गरिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले बताउनुभयो । विचैमा पढाई छाडेका आमाहरुका लागि अधुरो शिक्षा पूरा गर्ने यो सुवर्ण अवसर भएको उहाँको भनाई थियो ।
पाको उमेरमा छोराछोरी जस्तै गरी विद्यालयमा आएर पढ्न कठिन हुने भएपनि आमाहरुले देखाएको उत्साहले थप हौसला मिलेको नगर प्रमुख अर्यालको भनाई छ । विवाहित महिलालाई विद्यालयमा ल्याएर औपचारिक शिक्षा प्रदान गर्ने कार्य सहज नभएको बताउँदै उहाँले भन्नुभयो, “हिजोको दिनमा म महिला अधिकारका लागि लड्दै गर्दा, समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा धेरै महिलाहरुले हामीले पढ्न पाए धेरै काम गथ्र्यौँ भन्ने चाहना राख्नुहुन्थ्यो, त्यसबेला मलाई यो विषय निकै खड्केको थियो र आज नेतृत्व तहमा पुग्दै गर्दा उहाँहरुको भावनालाई प्रतिनिधित्व गर्दै महिला विद्यालय स्थापना गरेका हौँ”
विद्यालय शिक्षा लिएका तर विभिन्न कारणले औपचारिक शिक्षा पूरा गर्न नसकेका एवं सानो उमेरमा पढ्नै नपाएका तर पढ्ने धोको पूरा गर्न चाहेका महिलाका लागि यो विद्यालय स्थापना गरेको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । महिलाहरु शिक्षित भए मात्र समृद्धि सम्भव हुने भन्दै नगर प्रमुख अर्यालले विद्यालयमा भर्ना भएका सबै आमाहरुलाई अनुशासनपूर्वक पढ्न र निरन्तरता दिन आग्रह गर्नुभयो ।
गणतन्त्र दिवसको अवसर पारेर महिला विद्यालयको आज एक समारोहकाबीच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव र नगर प्रमुख अर्यालले उद्घाटन गर्नुभयो । उक्त विद्यालयलाई लुम्बिनी समता महिला विद्यालयको रुपमा नामाकरण पनि गरिएको छ । जिसस प्रमुख यादवले महिला विद्यालय सञ्चालन हुनु शिक्षा क्षेत्रमा महत्वपूर्ण कदम भएको बताउनुभयो ।
नगर उपप्रमुख सूर्य दुवेले शैक्षिक हवको रुपमा चिनिएको सुनवलमा महिला विद्यालयको सञ्चालनले शिक्षालाई थप परिस्कृत गरेको बताउनुभयो । यस विद्यालयले शैक्षिक हवको रुपमा सुनवललाई चिनाउन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आजबाट नयाँ अध्याय शुरु भएको छ, शैक्षिक हवमा यो महत्वपूर्ण सावित हुनेछ, हामीले बाबा बर्दगोरियामा संस्कृत विद्यालय स्थापना गरेका छौँ, त्यहाँ विद्यार्थी भर्ना भएर पढिरहेका छन् शिक्षा क्षेत्रमा यो पनि एउटा आमूल परिवर्तन हो, आगामी वर्ष स्पोर्टस एकेडेमी र सम्भव भएसम्म सुनवलमा खेलकुद विद्यालय पनि स्थापना गर्ने हाम्रो सोच छ, हाम्रो कार्यकालमा शैक्षिक गुणस्तर, शिक्षामा परिस्कृत गर्दै यो क्षेत्रकै उत्कृष्ट शैक्षिक हवको रुपमाा सुनवललाई चिनाउने योजनाका साथ अघि बढीरहेका छौँ”
सुनवल नगरपालिकाका निवर्तमान प्रमुख भीम बहादुर थापा(भरत)ले शिक्षा सँगसँगै महिलालाई उत्पादन र सीपमूलक कार्यमा जोड्दै जानुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरमा जोड दिएको पनि उहाँले बताउनुभयो ।
सुनवल नगरपालिकाको पहलमा स्थापना गरिएको उक्त विद्यालयमा हालसम्म १५० जना आमाहरु भर्ना भएर पढ्न थालिसकेको उक्त विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीले जानकारी दिनुभयो । वैशाख १५ देखि नै आमाहरु विद्यालयमा अध्ययन गरिरहेका छन् । ७६ वर्षसम्मका आमाहरु हाल विद्यालयमा भर्ना भएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिकी सदस्य एवं महिला विद्यालय सञ्चालन उपसमिति सदस्य कल्पना घिमिरेका अनुसार हालसम्म कक्षा ४ मा ५५ जना, कक्षा ५ मा ३० जना, कक्षा ८ मा २८ जना र कक्षा दशमा ३७ जना आमाहरु भर्ना भएका छन् । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा सञ्चालन हुने गरेको छ । भर्नाको समय अझै केही दिन रहने उहाँले बताउनुभयो । नगरपालिकाले महिला विद्यालय सञ्चालन गरेपछि यहाँ पढ्न आउने महिलाहरु निकै उत्साहित भएका छन् । कक्षा ४ मा भर्ना भएर पढ्न थाल्नुभएकी मनु केसीले पढ्ने धोको पूरा गर्न पाउँदा आफू धेरै नै खुशी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छोराछोरी पढाएर डाक्टर बनाँए, अहिले यो उमेरमा विद्यालय पढ्न आएकी छु, म एकदमै धेरै खुशी छु, यस्तो खालको शिक्षा सुनवलमै पहिले देखि नै भईदिए हुन्थ्यो भनेर माग गरिरहेको थिँए, अहिलेका मेयर बिमला अर्यालले हाम्रो माग सुनिदिनुभयो, हामी धेरै उत्साहित छौ” उहाँले थप्नुभयो, “सबै दिदीवहिनीहरुले पढेर के हुन्छ र मर्ने बेलामा हरियो काँक्रो भनेर घरमा नबस्नुस्,दिउँसोको खाली समय टिकटक र सामाजिक सञ्जालमा विताउनु भन्दा यहाँ आएर शिक्षा लिन अनुरोध गर्छु”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%२%

प्रतिक्रिया दिनुहोस