२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

रामग्राममा पहिलोपटक सांस्कृतिक मेला हुँदै,तीन दर्जन बढी नेपाली र भोजपुरी कलाकारको बेजोड प्रस्तुती रहने

२०८० जेष्ठ ५, शुक्रबार प्रकाशित ( साल अघि) १२२७ पाठक संख्या

मोहन पौडेल
परासी, ५ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलो पटक सांस्कृतिक मेला हुने भएको छ । कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. २ वडा कार्यालयले प्रथम रामग्राम सांस्कृतिक मेला आयोजना गर्न लागेको हो । मेलाको तयारी तीव्र रुपमा भईरहेको छ ।
रामग्राम–२ स्थित हाटबजार क्षेत्रमा यही जेठ ९ गतेदेखि २० गतेसम्म पहिलो पटक सांस्कृतिक मेला लागिएको मेला आयोजक रामग्राम–२ का वडा अध्यक्ष नीरज रौनियारले जानकारी दिनुभयो । विशेषगरी लोपोन्मुख स्थानीय कला संस्कृतिको संरक्षण तथा स्थानीय प्रतिभाको उजागरमा मेलाले विशेष टेवा पु¥याउने वडा अध्यक्ष रौनियारले बताउनुभयो ।
मेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रौनियारले भन्नुभयो, “यो मेलाबाट नाफा कमाउन भन्दा पनि यहाँको संस्कृति जोगाउने र सांस्कृतिक कार्यक्रममार्फत दर्शकहरुलाई प्रर्याप्त मनोरञ्जन दिनु नै मूख्य उद्देश्य हो।” मेला सञ्चालनबाट बचत भएको रकम अनाथ बालबालिकालाई सहयोग गरिने वडा अध्यक्ष रौनियारले उल्लेख गर्नुभयो ।
मेला प्रत्येक दिन दिउँसो एक बजेदेखि राति दश बजेसम्म सञ्चालन हुनेछ । मेलामा राष्ट्रिय, स्थानीय कलाकारसहित भोजपुरी क्षेत्रका चर्चित कलाकारहरुकोपनि सहभागिता रहने मेला व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड ईभेण्ट म्यानेजमेन्ट प्रालिका प्रमुख राजवीर जयसवालले जानकारी दिनुभयो ।
मेलाको मूख्य आकर्षणको रुपमा ख्याति प्राप्त कलाकारहरु दुर्गेश थापा, बद्री पंगेनी, ज्योति मगर, कमल खत्री, हेमन्त शर्मा लगायत भोजपुरी क्षेत्रका चर्चित कलाकारहरु प्रिति पासवान, रितेश पाण्डे, सिल्पी राज, लगायत तीन दर्जन बढी कलाकारको विशेष प्रस्तुती रहने जयसवालले बताउनुभयो । “हामीले यो मेलामा नवलपरासीमा अहिलेसम्म नआएका नेपाली तथा भोजपुरी कलाकारहरुलाई उत्तार्ने प्रयास गरेका छौँ, स्थानीय थारु,झाम्टा लगायतका नाचहरु पनि रहनेछन्”, उहाँले भन्नुभयो ।
मेलाको विशेष आकर्षणको रुपमा प्रत्येक दिन कुस्ती(दंगल) प्रतियोगिता तथा प्रथम रामग्राम डान्स आईडल प्रतियोगिता पनि आयोजना हुने आयोजकले जनाएको छ ।डान्स आईडलमा प्रथम पुरस्कार रु २५ हजार, द्धितिय पुरस्कार रु बीस हजार, तृतीय रु पन्ध्र हजार प्रदान गरिनेछ भने प्रथम हुनेलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत दिईने मेला व्यवस्थापक जयसवालले जानकारी दिनुभयो ।
बालबालिका तथा युवाहरुको लागि बाल उद्यान सहित स्थानीय उत्पादन,कृषि, गार्मेन्ट, होटल रेष्टुरेण्ट लगायत गरी करिब ५० वटा व्यापारिक स्टल समेत मेलामा राखिने छ । ५० हजार बढी दर्शक सहभागि गराउने उद्देश्य रहेको उक्त मेलामा प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।
पत्रकार सम्मेलनमा रामग्राम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मदन यादव,वडा नं. ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठी, वडा नं ११ का वडा अध्यक्ष धनीराम यादव, वडा नं. १४ का वडा अध्यक्ष ओमप्रकाश यादव लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१०%

प्रतिक्रिया दिनुहोस