२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रेस चौतारी नवलपरासीको साधारणसभा: सात बुँदे घोषणापत्र जारी,साईकल यात्रीलाई सम्मान

२०८० बैशाख ३०, शनिबार प्रकाशित ( साल अघि) ५७३ पाठक संख्या

मोहन पौडेल
परासी, ३० वैशाख । प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को वार्षिक साधारणसभा सात बुँदे परासी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । साधारणसभाले संगठनको वार्षिक सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना एवं आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।
प्रेस चौतारी नवलपरासीले परासी घोषणापत्र जारी गर्दै नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्न माग गरेको छ । प्रविधि पत्रकारितालाई सही सदुपयोग गर्न आग्रह गर्दै प्रेस चौतारी नवलपरासीले सञ्चार क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ। पत्रकारको निःशुल्क स्वास्थ्य उपचार,दुर्घटना बीमा र स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न जोडदार माग गरिएको छ भने श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकषर्ण गराईएको छ ।
मिडियाको दीगोपना, सबलीकरण र निरन्तरताका लागि स्थानीय सरकारले आवश्यक बजेट नियमित रुपमा विनियोजन गर्नुपर्ने माग गरिएको छ भने नेपाल पत्रकार महासंघले ल्याएको शुद्धिकरण अभियानलाई ऐक्वद्धता जनाउँदै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाईएको छ । यस्तै भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको रामग्राम स्तुप सहित जिल्लामा रहेका पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्न चौतारीले सबै पत्रकारलाई आह्वान समेत गरेको छ।
साधारणसभाकै अवसरमा प्रेस चौतारी नवलपरासीले महाकाली मेची साईकल यात्रामा सहभागि तीन जना महिला पत्रकारलाई पनि सम्मान गरिएको थियो । सबै खाले विभेदको अन्त्य तथा न्याय र समानताका लागि भन्दै प्रेस चौतारी नेपाल नवलपरासीकी सदस्य ईन्दिरा विश्वकर्मासहित पत्रकार रीता बुढोथोकी र संगिता नेपालीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म महाकाली देखि मेचीसम्मको साईकल यात्रा गर्नुभएको थियो । उहाँहरुको कार्यको उच्च सम्मान गर्दै प्रेस चौतारी नवलपरासीले आज उहाँहरु तीनै जनालाई सम्मान गरेको प्रेस चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो ।

346106263_147422951638715_5579122335398184917_n

साधारणसभाको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज प्रदीप आचार्यले पत्रकारिता क्षेत्रलाई जवाफदेही र व्यवसायिक बनाउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिताको क्षेत्रबाट प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै संगठन बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले संगठनको अक्षयकोषलाई बलियो बनाउन सुझाव दिँदै संगठनका सदस्यहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभयो । प्रेस चौतारीमा आवद्ध पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश समितिले आवश्यकता अनुसारका तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै आचार्यले संगठनलाई चलायमान बनाउने विषयम सबै सदस्यहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष डोलराज भण्डारीले प्रेस चौतारीले पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारको श्रमको सम्मान र पत्रकारिता क्षेत्रमा स्थापित गर्न चुनौती रहेको बताउँदै संगठनले रणनीतिक योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष भण्डारीले पत्रकारलाई शसक्तीकरण पनि आवश्यक रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज दीपु पोखरेलले प्रेस चौतारीलाई चलायमान बनाई राख्न र अब्बल संगठनको रुपमा स्थापित गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारिता पेशालाई मर्यादीत रुपमा अघि बढाउन ईमान्दारीता र जवाफदेही पत्रकारिता गर्न पनि उहाँले आग्रह गर्नुभयो । जिल्ला ईन्चार्ज पोखरेलले सञ्चारमाध्यम सबल हुँदा मात्र श्रमजीवि पत्रकार सुरक्षित हुने बताउँदै मिडियाको सबलीकरणमा जोड दिनुभयो ।
प्रेस चौतारी नेपाल नवलपरासी शाखाका अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सचिव बेनीमाधब बस्याल, नवलपरासी शाखाका पूर्व अध्यक्ष उमानाथ पोखरेल, पत्रकार महासंघ जिल्ला शाखाका सचिव राजकुमार रेश्मी,प्रेस चौतारी जिल्ला शाखाका उपाध्यक्ष गौरीशंकर जयसवाल, सदस्य विकास अधिकारी, महाकाली मेची साईकल यात्री रीता बुढाथोकी, ईन्दिरा विश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारणसभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष माधव घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस