२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम स्तूपमा अन्तरक्रिया गरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस

२०८० बैशाख २०, बुधबार प्रकाशित ( साल अघि) २६९ पाठक संख्या

परासी, २० वैशाख । विश्व स्वतन्त्रता दिवसको अवसरमा पश्चिम नवलपरासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परासी प्रेस क्लवले आज जिल्लाको ऐतिहासिक एवं पुरातात्विक स्थल रामग्राम स्तुपमा दिवसको अवसर पारेर प्रेस स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले सामाजिक सञ्जालका कारण पत्रकार र सार्वजनिक निकायलाई चुनौती थपिएको बताउनुभयो । सामाजिक सञ्जालमा जसले जे पनि लेखिदिने गर्दा समाज विकृततर्फ गईरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नगर प्रमुख यादवले सामाजिक सञ्जालमा पूर्वाग्रही तरिकाले र विना आधार पोष्ट गरिने भ्रामक सूचनालाई चिर्दै पत्रकारले समाजलाई सही सूचना दिएर सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
विकासलाई गति दिन पत्रकारको अहम भूमिका हुने बताउँदै उहाँले आफ्नो ध्यान नगरको विकास र राम्रो सेवा प्रवाहमा केन्द्रीत रहेकोले नगरवासीको अहित हुने कुनै काम नगर्ने बताउनुभयो । तर बेलाबेलामा आउने अफवाहले काम गर्न निरुत्साहित र मनोबल घट्ने उहाँको भनाई थियो ।
नगर प्रमुख यादवले रामग्राम स्तुपको विकासका लागि आफू गम्भीर भएर लागेको बताउँदै सरकार परिवर्तन भईरहने कारणले ठोस प्रगति हुन नसकेको जिकिर गर्नुभयो । स्तुपको बृहत्तर विकासका लागि लुम्बिनी विकास कोषसँगपनि आफू निरन्तर लडिरहेको उहाँले बताउनुभयो ।
यसपटक बुद्धजयन्तीमा प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरदेखि कोलिय राज्यका राजाहरुले बुद्धको अस्तुधातु ल्याएर बनाएको स्तुप रामग्राम स्तुपसम्म अस्तुधातु जात्रा गर्न लागिएकोले सबै नगरवासीलाई सहयोग र सहभागि हुन पनि नगर प्रमुख यादवले आह्वान गर्नुभयो ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले पुरातात्विक महत्वको क्षेत्र रामग्राम स्तुप क्षेत्रमा प्लाष्टिक जन्य वस्तुको प्रयोग निषेध गर्न आग्रह गर्नुभयो । उहाँले रामग्राम स्तुप र पण्डितपुर क्षेत्रमा सहज पहुँचका लागि विभिन्न स्थानमा सांकेतिक बोर्डहरु राख्न पनि जोड दिनुभयो । नगर प्रमुख यादवको कार्यकालमा रामग्राम स्तुपको विकासमा महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
परासी प्रेस क्लवका अध्यक्ष बेचु गौडको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला सभापति एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, बौद्धिक समाज नवलपरासीका अध्यक्ष अधिवक्ता मनोज हरिजन, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री, पूर्व प्रहरी निरीक्षक एवं समाजसेवी राधेश्याम सिंह सैथवार लगायतले शुभकामना व्यक्त गर्नुभएको परासी प्रेस क्लवका महासचिव मोहन पौडेलले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस