२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बुद्धजयन्तीमा पण्डितपुरबाट रामग्राम स्तुपसम्म धातु जात्रा, घरघरमा दीपप्रज्वलन गर्न आह्वान

२०८० बैशाख १८, सोमबार प्रकाशित ( साल अघि) ७८० पाठक संख्या

मोहन पौडेल
परासी, १८ वैशाख । पश्चिम नवलपरासीमा पहिलो पटक धातु जात्रा निकालिने भएको छ । २५६७ औँ बुद्धजयन्तीको अवसरमा पण्डितपुरबाट रामग्राम स्तुपसम्म बौद्ध संस्कृतिसँग जोडेर पहिलो पटक धातु जात्रा निकाल्ने तयारी गरिएको हो ।
वैशाख शुक्ल पूर्णिमाको अवसरमा रामग्राम–१८ स्थित प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर(रामग्राम)बाट रामग्राम–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपसम्म यसवर्ष उत्सवको रुपमा झाँकीसहितको धातु जात्रा प्रदर्शन गर्न लागिएको हो ।
रामग्राम नगरपालिकाको नेतृत्वमा धातु जात्रासहित विविध कार्यक्रम गर्दै रामग्राम स्तुप र पण्डितपुर जोडेर यस वर्ष भव्यताका साथ बुद्धजयन्ती मनाउन लागिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो । “वैशाख पूर्णिमा बुद्धको जन्म जयन्ती मात्र नभई बुद्धत्व प्राप्ति, महापरिनिवारण(मृत्यु) पनि एकैदिन भएकोले रामग्रामका तत्कालिन राजाहरुले बुद्धको धातु ल्याएर स्तुप निर्माण गरेको सन्देशलाई फैलाउन यसवर्ष देखि धातु जात्रासहितका कार्यक्रम गरेर बुद्धजयन्ती मनाउन लागिएको हो”, उहाँले भन्नुभयो ।
यसले रामग्राम स्तुप र ओझेलमा परेको पण्डितपुर क्षेत्रको प्रद्धर्वनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख यादवले बताउनुभयो । उहाँले विगतमा जस्तो बुद्धजयन्तीको दिन यहाँका जनप्रतिनिधि लुम्बिनी जाने प्रचलनलाई तोडेर यस वर्षदेखि आफूले रामग्राममै नगरवासीसँग सँगै बुद्धजयन्ती मनाउने मेयर यादवले बताउनुभएको छ ।
लुम्बिनी विकास कोषका कारण रामग्राम ओझेलमा परेको बताउँदै उहाँले आफू निर्वाचित भएर आएपछि रामग्राम विकास कोष गठन प्रक्रिया थालेको र त्यसको कार्यविधिलाई अन्तिम रुप दिने काम भईरहेको जानकारी दिनुभयो । अहिले लुम्बिनी विकास कोषले रामग्राम स्तुपमा आफ्नो कार्यालय सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा पर्यटक गाईड नहुँदा रामग्राम आउने पर्यटकले स्तुपको महत्वबारे बुझ्न नसक्दा रामग्राम स्तुपको व्यापक प्रचारप्रसार हुन नसकेको नगर प्रमुख यादवले बताउनुभयो ।
बुद्धजयन्ती मनाउने सन्दर्भमा आज सोमबार रामग्राम नगरपालिकाले यस क्षेत्रका सरोकारवालासँग गरेको तयारी बैठकमा नगर प्रमुख यादवले परासी, रामग्राम स्तुप र पण्डितपुरमा एकैसाथ बुद्धजयन्ती मनाउने तयारी गरेको जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाको नेतृत्वमा हुने बुद्धजयन्ती कार्यक्रमलाई लुम्बिनी विकास कोषले पनि सहयोग गर्नेछ । रामग्राम नगरपालिकामा यही वैशाख २१ र २२ गते विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय बैठकले गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय शर्माका अनुसार वैशाख २१ गते विहान सात बजे परासी, रामग्राम स्तुप र पण्डितपुरमा एकैसाथ विहानमा सरसफाइ कार्यक्रम गरिनेछ ।
परासी बजारमा हुने सरसफाइ कार्यक्रमको परासी बजार व्यवस्थापन समितिका अध्यक्ष सुनिल कसौधनको संयोजकत्व र वडा नं. २, ३, ५ र ६ का टोल विकास समिति, नगरवासी एवं स्थानीय संघ संस्थाको सहभागितामा हुनेछ भने रामग्राम स्तुपमा रामग्राम स्तुप पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायको संयोजकत्व र स्थानीय टोल विकास समिति, स्थानीयवासीको सहभागितामा सरसफाइ कार्यक्रम हुनेछ । यस्तै पण्डितपुर क्षेत्रमा स्थानीय राजेन्द्र चौधरी, शोभा थारु, अर्जुन यादवको संयोजकत्व र स्थानीयवासीको सहभागिमा वृहत सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यसैगरी वैशाख २२ गते पण्डितपुरबाट रामग्राम स्तुपसम्म झाँकीसहित धातु जात्रा प्रदर्शन गरिनेछ भने रामग्राम स्तुपमा धातु पाठ, धातु पूजा, प्रवचन, विपसना तथा मञ्चीय कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी रामप्रसाद पाण्डे र बेचु गौडलाई दिईएको छ ।
सोही दिन साँझ ६ बजे परासी, रामग्राम स्तुप र पण्डितपुरमा एकैसाथ दीपप्रज्वलन गर्ने कार्यक्रम पनि तय गरिएको छ । परासी बजारमा रिवर्थ नेपालको संयोजकत्व, रामग्राम स्तुपमा रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयोजकत्व तथा पण्डितपुरमा नवलपरासी उद्योग वाणिज्य संघको संयोजकत्वमा स्थानीय टोल विकस समिति, संघ संस्था, कर्मचारी तथा नगरवासीको सहभागितामा दीपप्रज्वलन गरिनेछ ।
बुद्धजयन्तीकै दिन साँझ सबै नगरवासीलाई आआफनो घरघरमा दीपप्रज्वलन गर्न र बुद्धजयन्तीका कार्यक्रममा उत्साहका साथ सहभागि हुन रामग्राम नगरपालिकाले आह्वान गरेको छ । रामग्राम स्तुप र पण्डितपुरमा बुद्धजयन्ती मनाउन नगर प्रमुख धनपत यादवको अध्यक्षतामा मूल समारोह समिति र अन्य विभिन्न उपसमितिहरु आजको बैठकले गठन गरी तयारी थालिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाको अगुवाईमा रामग्राम र पण्डितपुरमा हुने बुद्धजयन्ती कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, जिल्ला प्रशासनको पनि सक्रिय सहभागिता र सहयोग रहने सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा र गोरखदल गण परासीका प्रमुख ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस