२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

दैनिक 24 खबर डटकमको भित्तेपात्रो सार्वजनिक

२०८० बैशाख १७, आईतबार प्रकाशित ( साल अघि) १३१० पाठक संख्या

परासी, १७ वैशाख । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट सञ्चालित दैनिक 24 खबर डटकमले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । रमादेवी मिडिया प्रालिद्धारा सञ्चालित दैनिक 24 खबर अनलाईनले प्रकाशन गरेको भित्तेपात्रोको आज एक कार्यक्रम गरी विमोचन गरिएको हो ।
जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का प्रमुख भगौती यादव(रुदल)ले पात्रो विमोचन गर्दै नयाँ वर्ष २०८० को शुभकामनासहित छोटो अवधिमै दैनिक 24 खबर डटकमले सफलता हासिल गर्दै गएको भन्दै प्रंशसा गर्नुभयो । पछिल्लो समय अनलाईन पत्रकारितामा चुनौती रहेको बताउँदै उहाँले सत्य, तथ्य र निष्पक्ष समाचार दिनुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधिको विकाससँगै हातहातमा रहेको मोवाईलबाट छिटो छरितो सूचना समाचार प्राप्त गर्न सहजता भएको बताउँदै प्रमुख यादवले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने अनलाईनहरुलाई नियमन गर्न आवश्यक रहेको बताउनुभयो । दर्ता विनै सञ्चालित अनलाईनहरुले भ्रामक समाचार प्रकाशन गर्दा पाठकले सोही समाचारको आधारमा धारणा बनाउने र सत्य तथ्य समाचार सम्प्रेषण गर्ने अनलाईन ओझेलमा परेको उहाँको भनाई थियो । समाज विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने हुँदा पत्रकारिताको विश्वस्नीयता बढाउँदै पत्रकारिताको गरिमालाई जोगाई राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल बार एसोसियसन नवलपरासीका अध्यक्ष वरिष्ठ अधिवक्ता धन जैसी शर्माले पत्रकारिताको विकासक्रमसँगै अनलाईन पत्रकारिता प्रभावकारी बन्दै गएको बताउनुभयो । विगतमा जस्तो सीमित मिडिया र सीमित पत्रकारको भर पर्नुपर्ने अवस्था अब नरहेको भन्दै उहाँले अनलाईन मिडियाको विकासले क्षणभरमै स्थानीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय गतिविधि थाहा पाउन सरल भएको उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्र जोखिमको पेशा भएकोले निडर भएर सत्यतामा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
दैनिक 24 खबर डटकमका सल्लाहकार एवं उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले छोटो समयमै दैनिक 24 खबर अनलाईन यस क्षेत्रको लोकप्रिय अनलाईन सञ्चारमाध्यमको रुपमा स्थापित हुन सफल भएको भन्दै बधाई ज्ञापन गर्नुभयो । ज्ञवालीले यस मिडियाले हरेक क्षेत्रका समाचारलाई प्राथमिकता दिँदै सत्य, निष्पक्ष र सन्तुलित समाचार संप्रेषण गर्दै जाओस् भनी शुभकामना व्यक्त गर्नुभयो । पत्रकारितामा देखिएको विकृतिलाई चिर्दै दैनिक 24 खबर डटकम स्वच्छ पत्रकारितामा अब्बल बन्दै निरन्तर अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रमादेवी मिडिया प्रालिद्धारा सञ्चालित दैनिक 24 खबर डिजिटल अनलाईन पत्रिकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त गरी आधिकारिक भित्तेपात्रो प्रकाशन गरेको दैनिक 24 खबरका प्रबन्ध निर्देशक एवं सम्पादक मोहन पौडेलले जानकारी दिनुभयो । दैनिक 24 खबर डटकम सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भई गत साउनदेखि पश्चिम नवलपरासी र लुम्बिनी प्रदेशका स्थानीय समाचारलाई प्राथमिकता दिँदै सञ्चालनमा रहेको छ ।
“सबैको विचारःसत्य, निष्पक्ष र सन्तुलित समाचार” भन्ने नारा बोकेको दैनिक 24 खबर डटकम यस क्षेत्रका पाठकमाझ छोटो समयमै स्थापित अनलाईन मिडियाको रुपमा परिचित हुन सफल भएको उक्त अनलाईनका प्रबन्ध निर्देशक एवं सम्पादक पौडेलले बताउनुभयो । ग्रामीण क्षेत्रका आवाज विहीनको आवाजसँगै विकास निर्माणमा खबरदारी गर्दै लोकप्रिय सञ्चारमाध्यमको रुपमा स्थापित हुने गरी दैनिक 24 खबर अनलाईन पत्रिका निरन्तर अघि बढीरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि तथा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दैनिक 24 खबर डटकमका सल्लाहकार एवं नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री,  परासी प्रेस क्लवका अध्यक्ष बेचु गौड, परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थी, रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्य, दैनिक 24 खबर डटकमका सल्लाहकार एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष जोगमाया चौधरी, पत्रकार गौरीशंकर जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस