२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बौद्धिक सम्पत्तिको संरक्षण र प्रोत्साहन गर्न यथाशीघ्र कानून आवश्यक

२०८० बैशाख १३, बुधबार प्रकाशित ( साल अघि) ३५० पाठक संख्या

मोहन पौडेल
परासी, १३ वैशाख । बौद्धिक सम्पत्तिको संरक्षण र प्रोत्साहन आवश्यक रहेको सरोकार पक्षहरुले बताएका छन् । विकासको क्रम बढेसँगै पछिल्लो समय बौद्धिकता घट्दै गएको भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।
विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा आज बौद्धिक समाज नवलपरासीले आज परासीमा गरेको कार्यक्रममा सहभागिहरुले बौद्धिक सम्पत्तिले शसक्त कानूनी संरक्षण पाउन सके मात्र देशमा नयाँ नयाँ बैज्ञानिक आविष्कार,अन्वेषण एवं मानवीय ज्ञान र सीपको विकास हुनेमा जोड दिएका थिए ।
बौद्धिक समाज नवलपरासीका अध्यक्ष मनोज नागवंशीले बौद्धिक सम्पत्तिको संरक्षण र प्रोत्साहनबाट सिर्जित सृजनाको प्रयोगबाट मुलुक आर्थिक विकासमा पनि अग्रसर हुने बताउनुभयो । त्यसका लागि बौद्धिक सम्पत्ति अधिकारको कानून आवश्यक रहेको उहाँको भनाई थियो ।देशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्डको रुपमा रहेको बौद्धिक सम्पत्तिलाई कानूनी संरक्षण प्रदान गर्न ढिलाई गर्न नहुने उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चौधरीले बौद्धिक सम्पत्ति सिर्जनाको लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले जति विकासको क्रम बढीरहेको छ, त्यत्ति नै बौद्धिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बौद्धिक सम्पत्तिको संरक्षण सबैको दायित्व भएको बताउनुभयो ।
पाल्ही बहुमुखी क्याम्पसका प्रमुख कैलाश ठाकुरले बौद्धिक सम्पत्तिको चोरी बौद्धिक व्यक्तिबाटै हुने गरेको भन्दै चुनौती रहेको बताउनुभयो । यसको संरक्षणको सुनिश्चितता गर्न नसके नयाँ सृजनामा कमी आउने उहाँको भनाई थियो । परासी प्रेस क्लवका अध्यक्ष बेचु गौडले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्नको लागि यथाशीघ्र कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभयो ।
पूर्व प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले बौद्धिक सम्पत्ति सुरक्षित गर्नै चुनौती रहेको बताउनुभयो । कपिपेष्ट गर्ने प्रचलनले वास्तविक सिर्जनाकार ओझेलमा पर्ने र कपि गर्नेहरु अगाडि आउने गरेको भन्दै उहाँले कडा कानून मार्फत यस किसिमको कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच सोही अवसरमा भोजपूरी उखानका संकलनकर्ता अयोध्या प्रसाद चौधरी र पत्रकार बेचु गौडलाई सम्मान गरिएको आयोजक संस्थाका सदस्य गौरीशंकर जयसवालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस